चैनपुर (बझाङ) । थलारा गाउँपालिका–७ घोडादाउनामा जन्मिएकी ९६ वर्षीया तुलसीदेवी जोशीलाई गत शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले सबै कागजात तयार गरी उनको घरमै पुगेर नागरिकता प्रदान गरेकी हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारीले जोशीलाई नागरिकता प्रदान गर्दै अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा भेट भएको बताइन् । उनले जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने वित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताइन ।
बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मिएकी जोशीको विसं १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका–५ का पदमराज जोशीसँग विहे भएको थियो । विहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उनी एकल भएकी हुन् ।
थाहा भएदेखि कृषिमा जीवन समर्पित गरेकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिन्छिन । “गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्”, तुलसीले भनिन ।
यहाँको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशी अहिले पनि बारीमै भेटिन्छिन । यो उनको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो । “घरभित्रै बसिरहन मन मान्दैन,” उनले भनिन, “बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु ।”
सदरमुकाम चैनपुरबाट चार घण्टाको दूरीमा पर्ने पिठातोला र त्यो ठाउँबाट देखिने भू–भाग नै तुलसीका लागि संसार भयो । “मेरा लागि त यही संसार हो,” तुलसीले भनिन, “माइतीगाउँ जाने बिप्रा डाँडा र छिमेकी जिल्ला बाजुरा जाने थामलेकबाहेक अन्त देखेको छैन । यही संसार आँखी झ्यालबाट हेरिरहन्छु । त्यो पनि पुरै घुमेको छैन ।”