काठमाडौं । एसियन लाइफसँग जोडिएको झण्डै तीन वर्षअघिको हत्यासम्वन्धी मुद्दा अहिलेसम्म पनि अदालतमा विचाराधीन अवस्थामा छ । उक्त कम्पनीमार्फत बीमादाबी भुक्तानी लिनको लागि बाराको कलैयामा आफ्नै श्रीमतीको सलले बेरेर हत्या गरिएको थियो । हत्यासम्बन्धी उक्त घटनाको सम्बन्धमा एसियन लाइफका उच्च तहका कर्मचारीहरूको गम्भीर त्रुटि मात्रै नभई संलग्नताकै आशंका गरिएको थियो । घटनाको सम्बन्धमा प्राप्त तथ्यले एसियन लाइफका उच्च तहका उच्च अधिकारीहरूकै संलग्नताको आशंका गर्ने आधारहरू देखाएको थियो ।
तत्कालीन समयमा एसियन लाइफले उक्त प्रकरणमा एक करोड दुई लाख रुपैयाँ भुक्तानी गरेको थियो । भुक्तानी गरेको कुल रकममध्ये ३० लाख रुपैयाँ तत्कालै एसियन लाइफ इन्स्योरेन्स कम्पनीमा फिर्ता ल्याइएको थियो । कम्पनीको कलैया शाखाले श्रीमतीको हत्या गरी बीमादाबी भुक्तानी बुझेका नाथु देवानको दुई सन्तानको नाममा ३० लाख रुपैयाँको बीमा पोलिसी काटेर सो रकम फिर्ता ल्याएको थियो । २०८० साउन २ गते एसियन लाइफको कार्यालयमा बुझ्न खोज्दा नाथु देवानको छोरा र छोरीको नाममा कुल ३० लाखका दुईवटा बीमा पोलिसी जारी गरेको फेला परेको थियो । बीमासम्बन्धी प्रचलित व्यवस्था र कानुनअनुसार बीमादाबी भुक्तानी दिएपछि लगत्तै पुनः बीमा गर्नु भनेर सो रकम फिर्ता ल्याउन पाइँदैन । तर, एसियन लाइफले बीमादाबी भुक्तानी दिएको एक करोड दुई लाखमध्ये ३० लाख रुपैयाँ कम्पनीमा नै फिर्ता ल्याएको थियो ।
रकम फिर्ता ल्याउने घटनामा अप्रतक्षरूपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले भूमिका खेलेको आरोप लागेको थियो । तत्कालीन समयमा यो प्रकरणमा श्रेष्ठ समेत शंकाको दायरामा परेका थिए भने उनको भूमिका समेत निकै शंकास्पद देखिएको थियो । दाबी भुक्तानी दिइसकेको रकममध्येबाट ३० लाख रुपैयाँ कम्पनीमा नै फिर्ता ल्याउनुले उक्त घटना थप गिजोलिएको थियो ।
यो प्रकरणमा प्रत्यक्षरूपमा जोडिएका मृतका पति नाथु देवानको पनि आफ्नै ५० लाख रुपैयाँको बीमा पोलिसी पनि एसियन लाइफमा नै रहेको थियो । त्यतिबेला उनले तत्कालै थप ३० लाख रुपैयाँको बीमा पोलिसी खरिद गर्ने भन्दै बीमा गरेको देखिएको थियो । तत्कालीन समयमा एसियन लाइफले आपराधिक लाभ हुनेगरी बीमादाबी भुक्तानी लिने नाथु देवानसँग पुनः बीमा गरी ३० लाख रुपैयाँ कम्पनीमै फिर्ता ल्याएको त्यतिबेला नै स्वीकार गरेको थियो । त्यो समयमा कम्पनीले सबै कानुनी प्रक्रिया पूरा गरेर मात्र भुक्तानी दिएको प्रस्टोक्ति दिएको थियो । एसियन लाइफबाट मृत्युदाबी भुक्तानी लिने देवानले विसं २०७९ भदौमा श्रीमतीको हत्या गरेपछि दुर्घटनामा मृत्यु भएको भन्दै प्रहरीमा जाहेरी दिएर शव बुझेका थिए । कम्पनीले घटनास्थल मुचुल्का, पोस्टमार्टम रिपोर्ट, भिसेरा परीक्षणलगायतका सबै परीक्षण सम्पन्न गरेपछि पनि प्रहरी प्रतिवेदन मगाएर मात्रै कम्पनीले दाबी भुक्तानी दिएको जानकारी कम्पनीले दिएको थियो । त्यतिबेला नेपाल पुनर्बीमा कम्पनीले समेत उक्त घटनाको बारेमा प्रहरीसँग लिखित प्रतिक्रिया मागेको थियो ।
उक्त घटनामा हजरा खातुनलाई बीमादाबी भुक्तानी लिई लाभ लिन सलले बेरेर हत्या गरी मोटरसाइकलमा सल बेरिएर मरेको भन्ने प्रहरी प्रतिवेदन बनाएर दाबी भुक्तानी लिएको अभियुक्त नाथु देवानले स्वीकार गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाराले खातुनको हत्याको अनुसन्धान निकै नै फितलोरूपमा गरेको हल्ला त्यतिबेला नै फैलिएको थियो । प्रहरीले उक्त घटनासँग प्रत्यक्ष वा अप्रतक्ष्यरूपमा जोडिएका कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसहितका केही उच्च तहका कर्मचारीलाई जोगाउने गरी अनुसन्धान गरेको जानकारी पनि विभिन्न माध्यमबाट सार्वजनिक भएको थियो । यो मुद्दा अहिले पनि विचाराधीन अवस्थामा नै रहेको छ । तर, आजसम्म पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ भने निकै शालिनरूपमा कम्पनीमा प्रमुख कार्यकारी पदमा आसीन हुनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।