काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपलिका–२५ घर भई काठमाडौं महानगरपालिका–२२ गणबहाल पिपलबोट बस्ने २१ वर्षीय उज्वल रौनियार र मकवानपुर भीमफेदी गाउँपलिका–२ घर भई काठमाडौं महानगरपालिका–४ सुकेधारा बस्ने ४० वर्षीय सञ्जीव कुमार बल रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत पर्साबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उज्वललाई काठमाडौं बबरमहलबाट शुक्रबार र जिल्ला अदालत बाँकेबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका सञ्जीवलाई काठमाडौं सुकेधाराबाट शनिबार पक्राउ गरेको हो । पक्राउमध्ये उज्वललाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा र सञ्जीवलाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको प्रहरीले जानकारी दिएको छ ।