काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले आत्महत्या गरेका छन् । स्वकीय सचिव थापाले मन्त्री श्रेष्ठको आदेशभन्दा बाहिर गएर केही नगरेको भए पनि आफूलाई सहकारीसँग जोडेर बेइजत गर्न खोजेको भन्दै आत्महत्यासम्मको निर्णयमा पुगेको ‘सुसाइट नोट’मा उल्लेख गरेको बुझिएको छ ।
यसअघि पनि सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको समस्याको विषयमा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सहकारीलाई समस्याग्रस्त बनाउन पर्छ भन्दै परेको उजुरी बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले थापालाई सुमेरु सहकारीसँग वार्ता गरेर वार्ता सफल भए सहकारीको विषयमा परेको उजुरी मन्त्रालयबाट हटाइदिने प्रस्ताव राखेका कुरा बाहिरिएको थियो ।
करोडमा बार्गेनिङ गर्न लगाएका मन्त्री श्रेष्ठको स्वकीय सचिव धादिङको सिम्ले घर भएका थापाले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै विषपान गरेर आत्महत्या गरेका छन् ।
स्वकीय सचिवको विषपान गरेर मृत्यु भएसँगै राजनीतिकभन्दा बढी गैरराजनीतिकबाट उदाएका धादिङ घर भएका मन्त्री श्रेष्ठले बार्गेनिङ गर्न लगाएको विषय बाहिरिनबाट जोगिने चर्चा चलेको छ । सार्वजनिक यातायातमा पैसा उठाउने कामबाट सुरु गरेर राजनीतिमा उदाएका मन्त्री श्रेष्ठले यसअघि सुधिर बस्नेतको अपार्टमेन्ट कब्जा गरेको चर्चा चलेको थियो । उनले जस्मन गुरुङसँग मिलेर सो अपार्टमेन्ट कब्जा गरेको बताइएको थियो ।
काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित एक घरमा अचेत अवस्थामा भेटिएका मन्त्री श्रेष्ठको स्वकीय सचिव थापाको उपचारका क्रममा मृत्यु भएसँगै उनको सुसाइड नोट समेत फेला परेको थियो । सुसाइट नोटमा आफूले मन्त्री श्रेष्ठको आदेशभन्दा बाहिर गएर केही नगरेको भए पनि आफूलाई सहकारीसँग जोडेर बेइजत गर्न खोजेको उल्लेख रहेको बुझिएको छ ।