काठमाडौं, साउन ९
नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा पूर्वनिर्धारित समयमा नहुने भएको छ । महासंघको बिहीबार बसेको पदाधिकारी समितिको बैठकले महासंघको निर्धारित समय साउन २६ र २७ गते साधारणसभा नगर्ने निर्णय गरेको हो । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी साउन ५ गते सोमबारको मन्त्रिपरिषद्को बैठकले अर्को निर्णय नभएसम्मका लागि कुनै पनि प्रकारको सभा/सम्मेलन/भेला आयोजना गर्न प्रतिवन्ध लगाएको भन्दै महासंघले वार्षिक साधारणसभाको मिति सारेको हो । महासंघको साधारणसभा अब सरकारले सभा/सम्मेलन/भेला गर्ने स्वीकृति दिएको १५ दिन भित्र आयोजना गर्ने निर्णय भएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा बिहीबार महासंघको सचिवालयमा बसेको पदाधिकारी समितिको बैठकमा महासंघका पूर्वअध्यक्षहरू एवं पदाधिकारीहरू उपस्थित थिए ।
बैठकमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष चण्डिराज ढकाल, महासंघका पूर्वअध्यक्षहरू महेशलाल प्रधान, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकालको सहभागिता रहेको महासंघले जनाएको छ । महासंघको आगामी साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ । महासंघको विद्यानअनुसार साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको अध्यक्ष हुनेछन् । अन्य पदाधिकारीको लागि भने निर्वाचन हुनेछ । महासंघको वरिष्ठ उपाध्यक्षका लागी वर्तमान उपाध्यक्षहरु किशोर प्रधान र चन्द्र ढकालले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।