काठमाडौं । इसेवाले नेपालीहरूको महान चाड दशैं, तिहार र छठको अवसरमा चाडपर्वको हर्षलाई थप उत्साहजनक बनाउने उद्देश्यका साथ ल्याएको इसेवा महा–उत्सव अफरको बम्पर उपहार नामीको कार हस्तान्तरण गरेको छ । विजया दशमीदेखि छठ पर्वसम्म करिब दुई महिनासम्म चलेको यस अफरमा इसेवाबाट कुनै एक कारोबार गर्ने भाग्यशाली प्रयोगकर्तालाई बम्पर उपहारस्वरूप नामी कम्पनीको नयाँ इलेक्ट्रिक कार जित्ने मौका थियो । बम्पर उपहार विजेता हुन सफल भएका रवि बम्जनलाई आज एक औपचारिक कार्यक्रम गरी इसेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्य र फाइनान्स प्रमुख सरोज कुमार घिमिरेद्वारा कार हस्तान्तरण गरिएको थियो ।
इसेवाको यो अफर २०८१ सालको असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म चलेको थियो। हरेक कारोबारमा कार जित्ने मौकासँगै एक सय रुपैयाँको खेल खेल्ने प्रयोगकर्ताहरूलाई आईफोन १६ जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी आदिको बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई ६५ इन्चको टिभी जित्ने मौका पनि रहेको थियो । दैनिक फ्ल्यास सेल र साप्ताहिक हट डिल्स यस इसेवा महा–उत्सवमा थप आर्कषणका केन्द्र रहेको थियो भने इन्टरनेट बिल भुक्तानी गर्नेहरूका लागि आइफोन १६ प्रो जित्ने मौका समेत समावेश थियो ।
नामी कार विजेता रवि बम्जनले आफूले कार जित्ने कुरा कहिले नसोचेको र इसेवाबाट उक्त जानकारी पाउँदा सुरुमा त विश्वास नै नगरेको, तर पछि इसेवाको आधिकारिक पेजमार्फत सोबारे समाचार तथा विज्ञप्ति देखेपछि मात्र विश्वास भएको बताए । सोही कार्यक्रमको क्रममा बम्जनले यस जितले आफ्नो जीवनमा स्तरोन्नति हुने भएकोमा खुसी व्यक्त गर्दै इसेवालाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।
इसेवाबाट बिजुली तथा खानेपानी भुक्तानी, टपअपजस्ता विविध भुक्तानी सेवाहरूले उनको जीवनलाई सहज बनाउँदै आएको र उनीजस्तै लाखौं मानिसहरूको जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोले खुसी व्यक्त गरेका थिए ।
इसेवाका प्रमुख रणनीतिक अधिकारी श्री रवि शाक्यले पनि उक्त कार्यक्रममा नामी कार हस्तान्तरण गर्दै विजेता रवि बम्जनलाई बधाई दिएका थिए । उनले यस अवसरमा ग्राहकहरूको सहजता, सन्तुष्टि र वित्तीय सुरक्षा नै इसेवाको प्राथमिकता रहेको बताए भने इसेवा सदैव डिजिटल नेपालको लागि कार्यरत रहि आवश्यताअनुसार नवीनतम सेवाहरू थप गर्दै सबै–सधैं–सँगै एक उज्जवल र सुरक्षित वित्तीय भविष्यतर्फ अघि बढ्ने कुरामा समेत प्रमुख रणनीतिक अधिकारी शाक्यले जोड दिएका थिए ।
नेपालको पहिलो तथा अग्रणी डिजिटल वालेटको रूपमा स्थापना भएको इसेवाले नेपालको ७७ वटै जिल्लामा सेवा प्रदान गर्दै आएको छ । सहरी क्षेत्रहरूमा मात्र सीमित नभई उपत्यकाबाहेकका विभिन्न क्षेत्रहरूमा सेवा प्रदान गर्न हाल देशभर इसेवाका आठ वटा शाखा कार्यालय तथा तीन वटा सम्पर्क कार्यालयहरू छन् । प्लेस्टोरमा एक करोड डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट इसेवामा एक करोडभन्दा बढी ग्राहकहरू, दुई लाख ७० हजारभन्दा बढी आधिकारिक प्रतिनिधिहरूका साथै ४९ वटा बैंकहरू, ४५ वटा माइक्रोफाइनान्स संस्थाहरू र पाँचभन्दा बढी मर्चेन्टहरू आबद्ध रहेका छन् ।