काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले मंंगलबार ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा अध्यक्षको कार्यभार सम्हालेका छन् ।
यसअघि मंगलबार अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवनियुक्त अध्यक्ष ओझालाई पद तथा गोपनीयताको सपथ गराएका थिए । नेपाल सरकार, मन्त्रिपरिषद्को हिजो बसेको बैठकले उनलाई नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो ।
प्राधिकरणमा कार्यभार सम्हाल्दै नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले सरकारले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित हुने बताए । अध्यक्ष ओझाले बीमा क्षेत्रमा देखिने गरेर परिवर्तन आएको महसुस हुने गरी सबैको सहकार्यमा कार्यान्वयनयोग्य कार्ययोजना बनाएर काम गर्ने जानकारी दिए ।
बीमा ऐन, नियम, निर्देशिका एवं मापदण्डबमोजिम अगाडि बढ्ने उल्लेख गर्दै अध्यक्ष ओझाले बीमा क्षेत्रको नियमनकारी निकायका रूपमा प्राधिकरणले अवलम्बन गर्दै आएको असल अभ्यासलाई निरन्तरता दिने र आवश्यक अन्तर्राष्ट्रिय असल अभ्यासलाई कार्यान्वयन गर्दै जाने बताए ।
अध्यक्ष ओझाले बीमा क्षेत्रलाई नियमित, प्रतिस्पर्धी र पारदर्शी बनाउँदै बीमितको हित संरक्षण, प्राधिकरणका विचाराधीन मुद्दाहरूको शीघ्र फस्र्यौट र बीमकको वित्तीय स्वास्थ्यलाई बलियो बनाउन प्राथमिकताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष एवम् प्राधिकरण सञ्चालक समितिका सदस्य मदन दहाल उपस्थित भएका थिए ।
यसअघि, नवनियुक्त अध्यक्ष ओझा नेपाल बीमा प्राधिकरणमा आउँदा उनलाई प्राधिकरणका निर्देशकलगायत कर्मचारीहरूले खादा, माला र पुष्पगुच्छाले स्वागत गरेका थिए ।