काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको यो पटकको भिडियो सन्देशलाई आधार मान्ने हो भने उनी अब प्रत्यक्ष शासन गर्नेतर्फको अभियानमा लागेको र उनले भनेअनुसार त्यसका लागि नेपाली जनताले ‘हार्दिकतापूर्वक’ साथ दिनुपर्ने हुन्छ । उनले भनेका छन्, ‘राष्ट्र जोगाउने हो भने, देशको विकास गर्ने हो भने हामीलाई साथ दिनुस् ।’
विगतभन्दा यस वर्षको प्रजातन्त्र दिवसमा जारी भएको उनको भिडियो सन्देश भिन्न प्रकारको देखियो । सबैलाई समेट्ने र देशको विकास तथा प्रजातन्त्रको रक्षा गर्ने काम आफूबाट मात्र सम्भव हुने उनको दाबी थियो । उनले भनेका छन्, ‘देशको समृद्धि र उन्नतिका लागि पनि आफूलाई साथ दिनुहोस् ।’
यस्तो छ त्यो सन्देशका अंश– ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ । अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ । हाम्रो यो नेपाल देशभक्त पूर्खाहरूले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ । त्यति मात्रै होइन, हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा, सुख सुविधालाई पनि त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन । त्यस्तो भाव कसैले पनि कमजोरी ठान्नु हुँदैन । कतै कुनै पनि पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाशा हो । हाम्रो त्यागको अर्थ, आशय पनि त्यही नै हो ।’
यसअघिका वर्षहरूमा उनले नेपाली जनताको हावाला दिएर तिनका कुरा सुनौं भनेर अपिल गर्थे । अघिल्लो वर्ष अर्थात् ६ फागुन २०८० मा पूर्वराजा शाहले प्रजातन्त्र पुजनीय भए पनि यसको पूजा शब्दले गरेर मात्र नपुग्ने बताएका थिए । ७४औँ प्रजातन्त्र दिवसको अवसरमा उनले जनताको कुरा सुन्दै सोहीअनुसार राज्य व्यवस्थाका हर्ताकर्ताले धरातलीय अथार्थका आधारमा प्रजातान्त्रिक विधि र व्यवहार झल्काउनुपर्ने भनेर अर्ती दिएका थिए ।
७४औँ प्रजातन्त्र दिवसको सन्देशमा उनले भनेका थिए–‘प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा कर्म, कर्तव्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवं सही प्रकारको आचरणले मात्र हुने हो । जनताजनार्दनले जे भन्दछन् त्यो सुनौँ, त्यसलाई गुनौँं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि व्यवहार झल्काउनु पर्दछ ।’
तर यो पटक भने उनले अरुलाई दिनेगरेको यस्तो उपदेश व्यवहारमा उतार्न आफैँ अग्रसर हुने र सोका लागि नेपाली जनताले साथ दिनुपर्ने भनेका छन् । आफूले विकास र समृद्धि दिने भएकाले नेपाली जनताले आफूलाई साथ दिन अपिल गरेका हुन् ।
पूर्वराजाले ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ’ भनेका भोलिपल्टदेखि राप्रपाले राजा ल्यउन भन्दै देशव्यापी आन्दोलन सुरु गरेको छ तर पूर्वराजाको यो सन्देशले भने उक्त दलले नै भन्ने गरेको संवैधानिकभन्दा आफ्नो इच्छा प्रत्यक्ष शासन गर्नेतर्फ रहेको भनेर एकप्रकारले मुखै खोले । देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिनु भन्ने कुराले प्रत्यक्ष शासन गर्ने उनको चाहनालाई बुझाउँछ ।
देशको समृद्धि र उन्नतिका कुरा नराम्रा होइनन् तर यस्तो काम गर्न निकाय चाहिन्छ । देशको कार्यकारी प्रमुखले मात्रै यस्तो काम गर्न सक्तछ । त्यस कारण पनि राजाको चाहना प्रत्यक्ष शासनतर्फ रहेको यो सन्देशले दिने सन्देश हुनुपर्छ ।
उनले भनेको जस्तो राष्ट्र जोगाउन, राष्ट्रिय एकता कामय राख्न र देशको समृद्धि र उन्नति गर्न रापप्रपाले भनेजस्तो संवैधानिक राजाबाट सम्भव हुँदैन । यस्ता कार्यकारी काम गर्नका लागि राजा पनि कार्यकारी नै चाहिन्छ ।
संवैधानिक हुँदाहुँदै त्यो ठाउँ छाडेर उनी विगतमा कार्यकारी भूमिकामा ओर्लिएकै हुन् । त्यसबेला करिब तीन वर्षको समयमा तीन जना प्रधानमन्त्री फेरेर त्यसपछि आफैँ प्रत्यक्ष शासनमा ओर्लिएकै हुन् ।
उनले प्रधानमन्त्री फेरिइरहँदा लगाएका आरोपमा कसैले पनि आफूले भनेजस्तो देशको समृद्धि र उन्नति हुनेगरी काम नगरेको भन्ने नै थियो । २०६१ माघ १९ को उनको सम्बोधनमा यही कुरा बताइएको छ ।
यसै भएर पनि होला यो पटकको उनको सम्बोधनको चौतर्फी विरोध भयो । संसद्मा नै निर्वाचित भएर आएर यी काम गर्नू भनेर सुझाव नै आए ।
राष्ट्रिय सभाको बैठकमा सदस्य बामदेव गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीति गरी प्रधानमन्त्री बन्न पूर्वराजा ज्ञानेन्द्रलाई सुझाव दिए । बैठकमा बोल्दै उनले भने, ‘राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाऊ’ भन्नु उचित हुँदैन ।
बामदेवकै शब्दमा ‘तपाईँले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् र केही समयपछि २०८४ मा हुने निर्वाचनमा भाग लिनुस् । निर्वाचित भई संसद्बाट प्रधानमन्त्री बन्नुस् र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाइदिनुस् । राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति हुन् । त्यसपछि राजा वीरेन्द्रको राजसहित उनको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरू हुन् । राजा वीरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्रलाई नेपालका सबै राजनीतिक पार्टीहरूले स्वीकारेकै थिए । राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाऊ भन्नु उचित हुँदैन ।’