काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रियसम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले नेपाल–भारतबीच सम्बन्ध सुदृढ गर्न र साझा अवसरको लाभ लिन धार्मिक पर्यटन मार्गहरूको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
भारतको नयाँदिल्लीमा आयोजित ‘नेपाल–भारतसम्बन्ध, छिमेकी कूटनीति र बुद्धका उपदेशको सान्दर्भिकता’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र जनस्तरको सम्बन्धलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिएका हुन् । उनले नेपाल–भारतको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्न बौद्ध, रामायण र महाभारत सर्किटजस्ता धार्मिक पर्यटन मार्गहरूको प्रवर्द्धन गर्नुपर्ने बताए । बोधगया र लुम्बिनीलाई जोडेर बौद्ध सर्किट बनाउने, अयोध्या र जनकपुरलाई समेटेर रामायण सर्किट विस्तार गर्ने तथा पाण्डवहरूसँग सम्बन्धित स्थानलाई समेटेर महाभारत सर्किट प्रवर्द्धन गर्ने योजनालाई मूर्तरूप दिइनुपर्ने उनको भनाइ छ ।
‘नेपाल र भारतबीच शताब्दीयौँदेखि सभ्यतागत सम्बन्ध छ । जसलाई साझा इतिहास, परम्परा, धर्म, विश्वास, र जनस्तरको सम्बन्धले परिभाषित गर्छ’, उनले भने, ‘यी साझा विशेषताहरूले हामीलाई इतिहास र संस्कृतिसँग जोडिएका अवसरलाई मूर्तरूप दिन मात्र होइन, द्विपक्षीयसम्बन्ध सुदृढ पार्दै क्षेत्रीय सहकार्यमार्फत साझा समृद्धि हासिल गर्ने अवसर प्रदान गर्छ ।’