काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टियु) ले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा समस्या परेका विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर अध्ययन गर्ने व्यवस्था मिलाएको छ ।
त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले एक विज्ञप्ति जारी गरी भारतको केआईआईटी विश्वविद्यालयमा सिर्जना भएको समस्याको कारणले स्वदेशमा फिर्ता भएका विद्यार्थीलाई त्रिविको ‘क्रेडिट ट्रान्सफर’ नीतिअनुसार भर्ना हुने व्यवस्था गरिएको जानकारी दिएका छन् । ‘भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीतिअनुरूप भर्ना गर्न सकिने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,’ केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्रिविले विद्यार्थी तथा अभिभावकलाई रेक्टरअफिस एट टीयु डट ईडीयु डट एनपी र रेक्टर एट टीयु डट ईडियु डट एनपीमा सम्र्पक गर्न आग्रह गरेको छ । गत केही दिनअघि केआईआईटीको छात्रावासमा प्रकृति लम्सालको रहस्यमयी तरिकाले मृत्यु भएको थियो । त्यसपछि असुरक्षा भएपछि नेपाली विद्यार्थीबीचमा नै पढाइ छाडेर नेपाल फर्किएका छन् ।