काठमाडौं । ‘भ्वाइस अफ स्याट सिजन ३’को उपाधि दिया घिमिरेले हासिल गरेकी छिन् । स्कुल अलाइन्स फर एकेडेमिक टान्सफरमेसन (स्याट)ले आयोजना गरेको भ्वाइस अफ स्याटको तेस्रो संस्करणको उपाधि पिक पोइन्ट एकेडेमीकी छात्रा घिमिरेले हासिल गरेकी हुन् ।
डिजी स्कुलको मुख्य प्रायोजन रहेको गायन रियालिटी शोको सोमबार भएको फाइनल प्रतियोगितामा गोल्डेन गार्डेन एकेडेमीकी सम्पदा घिमिरे दोस्रो, पिक पोइन्ट एकेडेमीकी जेबिसा श्रेष्ठ तेस्रो, साइपाल एकेडेमीका एन्जरलबाबु कट्टेल चौथो तथा पब्लिक च्वाइस अवार्ड र पिक पोइन्ट एकेडेमीका आर्यान शाहीले पाँचौँ स्थान हात पार्न सफल भएका छन् ।
किताबी ज्ञान मात्र नभएर विद्यार्थीका अतिरिक्त क्षमतालाई उजागर गर्न स्याटले विभिन्न कार्यक्रम गरिरहेको भन्दै अध्यक्ष इन्जिनियर विनय श्रेष्ठले अझै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
२८ वटा विद्यालयबाट चार सय ५० जना प्रतिभाले सहभागी जनाएकोमा पहिलो चरणमा दुई सय आठ, दोस्रो चरणमा एक सय आठ र तेस्रो चरणमा ५० हुँदै ग्रान्ड फिनालेमा २६ जना विद्यार्थीले प्रस्तुति दिएका थिए । जसमध्ये उत्कृष्ट पाँचका साथै पब्लिक ‘च्वाइस अवार्ड’ र ‘राइजिङ स्टार’सहितलाई पुरस्कृत गरिएको कार्यक्रमका ‘मास्टर जुरी’ तथा ‘कोच’ गायक/सङ्गीतकार उमेश राउतले जानकारी दिए ।
गायिका संगिता प्रधान, म्युजिक डाइरेक्टर राजु सिंह र सन्तोष श्रेष्ठले भ्वाइस अफ स्याटको तेस्रो संस्करणको निर्णायकको भूमिका निर्वाह गरेका हुन् भने अडिसनदेखि उत्कृष्ट ५० सम्मको छनोट उमेश राउतले गरेका हुन् भने उत्कृष्ट २०को छनोटमा उनलाई गायक/सङ्गीतकार निर्मल दियालीले साथ दिएका थिए ।
कमलपोखरीस्थित रसियन कल्चरको हलमा आयोजित उक्त कार्यक्रममा चर्चित कलाकार तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले प्रमुख आतिथिको भूमिका निर्वाह गरेका थिए । उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरिनुका साथै उत्कृष्ट २६ लाई समेत पुरस्कार प्रदान गरिएको थियो थियो । कार्यक्रमको शीर्ष विजेतालार्ई नगदसहित अन्य पुरस्कारका साथै एउटा नयाँ गीत रेकर्डिङको अवसर प्रदान गरिनेछ भने उत्कृष्ट पाँचलाई कभर गीत रेकर्डिङको अवसर प्रदान गरिनेछ ।