काठमाडौं । एभरेस्ट बैंकले ऋणपत्रको बिक्री खुला गर्ने भएको छ । बैंकले यही फागुन १८ गतेबाट एक हजार रूपैयाँ अंकित मूल्य कायम रहने गरी तीन अर्ब रूपैयाँ बराबरको ३० कित्ता ऋणपत्रको बिक्री खुला गर्न लागेको हो ।
बिक्री गरिने कुल ऋणपत्रमध्येमा ६० प्रतिशतका दरले हुन आउने १८ लाख कित्ता बराबरको एक अर्ब ८० करोड व्यक्तिगत तवरबाट र ४० प्रतिशतका दरले हुन आउने १२ लाख कित्ता बराबरको एक अर्ब २० करोड रूपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । लगानीकर्ताहरूले न्यूनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्मको ऋणपत्र खरिद गर्न सक्ने छन् । ऋणपत्रको वार्षिक व्याजदर सात दशमलव पाँच प्रतिशत छ ।
बैंकका अनुसार १० वर्षे अवधिको यो ऋणपत्र २०९१ सालमा मात्रै परिपक्व हुनेछ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल (एलएस) रहेको ऋणपत्रको बिक्री कार्य छिटोमा यही फागुन २१ गते र ढिलोमा चैत तीन गते तोकिएको छ ।