काठमाडौं । एडभर्टाइजिङ एसोसिएसन अफ नेपाल (आन) अन्तर्गतको स्वायत्त संस्था एड क्लब अफ नेपालले हालै ‘एकदेशमाः पारस खड्का’ कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल क्रिकेट टिमका पूर्वकप्तान, नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाल प्रिमियर लिग (एनपीएल)का संयोजक पारस खड्का प्रमुख वक्ताका रूपमा सहभागी थिए । उनले आफ्नो प्रारम्भिक संघर्षदेखि २०१४ को आईसीसी टी–ट्वान्टी विश्वकपमा नेतृत्व गर्ने यात्रा, नेपाललाई ओडीआई मान्यता दिलाउने सफलता, खेल प्रशासनमा संलग्नता तथा ब्रान्ड एन्डोर्समेन्टको यात्राका अनुभव सुनाएका थिए । पारसले खेलमा समर्पण र उत्कृष्टताप्रति आफ्नो प्रतिबद्धता कसरी ब्रान्ड एन्डोर्समेन्टको दृष्टिकोणमा समानरूपले लागू हुन्छ भन्ने विषयमा प्रकाश पार्दै, जुनसुकै क्षेत्रमा पनि इमानदारी र जोसको महत्व रहेको उल्लेख गरे ।
कार्यक्रमको प्रारम्भमा विज्ञापन क्षेत्रका पेशेवर हीनाद्वारा वाचन गरिएको एक भावनात्मक कविता प्रस्तुत गरिएको थियो । कार्यक्रमको समापनमा एड क्लब अफ नेपालका गभर्नर विधान राजभण्डारी र एडभर्टाइजिङ एसोसिएसन अफ नेपाल (आन) का अध्यक्ष सुदीप थापाले पारस खड्कालाई सम्मानस्वरूप विशेष स्मृति चिह्न प्रदान गरेका थिए । नेपालको विज्ञापन र मार्केटिङ समुदायका लागि एक महत्वपूर्ण मञ्चको रूपमा एड क्लब अफ नेपालले नयाँ विचारहरू, नवप्रवर्तन र उद्योग सम्बन्ध सुदृढ गर्न निरन्तर काम गरिरहने जनाइएको छ ।