काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई आग्रह गरेकी छिन् ।
जेनेभमा रहेकी परराष्ट्रमन्त्री डा. देउवाले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवम् प्रतिनिधिहरुलाई सो आग्रह गरेकी हुन् । जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा परराष्ट्रमन्त्री डा. देउवाको सम्मानमा बुधबार साँझ जेनेभामा रहेका विभिन्न देशका स्थायी नियोग र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरुका लागि आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले मानवअधिकारको रक्षा र प्रवर्द्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर नेपाललाई मत दिन आग्रह गरेकी हुन् ।
सो अवसरमा उनले शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई पनि छिट्टै टुङ्ग्याउने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर तदारुकताका साथ काम गरिरहेको जानकारी गराइन । नेपालले शान्ति प्रक्रियाका क्रममा पनि विश्वकै उदाहरणीय भएर काम गरेको उनले उल्लेख गरिन ।
नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रही आएको जनाउदै परराष्ट्रमन्त्री डा. देउवाले नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अधिकारहरूलाई मौलिक हकका रुपमा समेटेको बताइन ।
यसअघि गत मङ्गलबार परराष्ट्रमन्त्री डा. देउवाले राष्ट्रसङ्घीय मानवअधिकार परिषदको उच्चस्तरीय सत्रलाई सम्बोधन गरेकी थिइन । परराष्ट्रमन्त्री डा. देउवा गत शनिबार ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा पुगेकी थिइन । उनी शुक्रबार बिहान स्वदेश फर्कँदै छिन ।