काठमाडौं । सेयरबजार करिब ५० अङ्कले बढ्दा बिहीबार नेप्से परिसूचक दुई हजार आठ सय विन्दुभन्दा माथि पुगेको छ । करिब छ महिनादेखि दुई हजार छ सय र दुई हजार आठ सय विन्दुको बीचमा तलमाथि गरिरहेको नेप्से बिहीबार ४९ दशमलव १५ अङ्कले बढेर दुई हजार आठ सय १५ विन्दुमा पुगेको छ । बजारले दुई हजार आठ सयको बलियो मनोवैज्ञानिक रेखालाई तोडेर माथि लागेपछि लगानीकर्ताको मनोबल पनि बढेको देखिन्छ ।
बिहीबार मात्रै ११ अर्ब ३९ करोड रुपैयाँको दुई करोड ६१ लाख ९९ हजार सात सय ८० कित्ता सेयर किनबेच भएकोे छ । कारोबार भएका दुई सय ४४ कम्पनीमध्ये एक सय ८६ वटाको सेयरमूल्य बढेको छ । बाँकीमध्ये ५२ वटाको घटेको छ भने छवटाको स्थिर रहेको छ ।
सूचीकृत सबै समूह बढेका छन् । सबैभन्दा धेरै बैंकिङ समूह तीन दशमलव ३२ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ९१ प्रतिशत बढेको छ ।
मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामा बैंकहरूको नाफा बढ्ने गरी नीति आएपछि बजारमा प्रभाव परेको देखिन्छ । मौद्रिक नीतिमा कर्जाबापत गर्नुपर्ने प्रोभिजन दर घटाइएको थियो । नयाँ व्यवस्थाअनुसार असल कर्जाको प्रोभिजनदर एक दशमलव १० प्रतिशतबाट घटाएर एक प्रतिशतमा झारेको छ । यसले वाणिज्य बैंकहरूको नाफा पाँच अर्ब बढ्ने अनुमान गरिएको छ । त्यसैले बिहीबार बैंकिङ समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । बिहीबारको वृद्धिसँगै बजारले थप उचाइ लिने विश्लेषण हुन थालेको छ ।
अर्कोतर्फ बैंक ब्याजदर सस्तो छ । तरलता पनि प्रशस्त छ । यसले पनि सेयरबजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताकोे बुझाइ छ ।
बिहीबार गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, अपर हेवाखोला हाइड्रोपावर कम्पनी, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । लिबर्टी इनर्जी कम्पनीको सेयरमूल्य नौ दशमलव ९६ प्रतिशत बढेको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै सात दशमलव १७ प्रतिशत बढेको छ । हिमालयन रि–इन्स्योरेन्सको सेयर कारोबार ९६ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
लगानीकर्ताको सम्पत्ति ८३ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४६ खर्ब ७४ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण पनि २० अर्ब रुपैयाँ बढेर १५ खर्ब ५९ अर्ब रुपैयाँ कायम भएको छ ।