काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विद्युतीय सवारी साधनहरूको ऋण मूल्य अनुपातको सीमा पुरानै व्यवस्थाअनुसार राख्न माग गरेको छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनहरूको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरेको छ । यसअघि विद्युतीय सवारी साधनहरूको ऋण मूल्य अनुपातको सीमा ८० प्रतिशत रहेको थियो । नाडाले बिहीबार विज्ञप्ति जारी गरी पुरानै व्यवस्था कायम गर्न माग गरेको हो । सरकारले नीतिगतरूपमै ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने निर्णय गरी सोहीअनुरूप विद्युतीय सवारी साधनहरूलाई विशेष सुविधा प्रदान गर्दै आएकोमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सरकारको सो नीतिलाई नै उपेक्षा गरेको नाडाले जनाएको छ ।
नाडाका अनुसार राष्ट्र बैंकको यस नीतिबाट विद्युतीय सवारी साधनहरूको प्रयोगमा निश्चितरूपमा कमी आउने अवस्था आएको छ । सरकारको आफ्नो घोषित नीतिको पालना र विद्युतीय सवारीसाधनहरूको हकमा व्यवसायीहरूको लगानीलाई सुुरक्षित बनाउनका ऋण मूल्य अनुपातको सीमालाई ८० प्रतिशत नै कायम गर्नुपर्नेमा नाडाले जोड दिएको छ ।
यस्तै, नाडाले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरूको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरेकोमा भने स्वागत गरेको छ । यसअघि सो सीमा ५० प्रतिशत रहेको थियो । नाडाले सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरूको ऋण मूल्य अनुपातलाई ७५ प्रतिशत पुर्याउन आग्रह गरेको छ ।