काठमाडौं । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको स्वकीय सचिव रवि थापाको मृत्यु प्रकरणमा लेनदेन भएको मन्त्रालयले स्वीकार गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वकीय सचिव थापाको मृत्यु प्रकरणमा बिचौलियाकै कारण भएको दाबी गरेसँंगै लेनदेन नै प्रमुख कारण भएको खुलेको हो । सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडलाई समस्याग्रस्त घोषणा गर्नुपर्छ भन्दै बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्रालयमा परेको उजुरीलाई मन्त्री श्रेष्ठले सुमेरु सहकारीसँग वार्ता गरेर वार्ता सफल भए सहकारीको विषयमा परेको उजुरी मन्त्रालयबाट हटाइदिने प्रस्ताव बोकेर स्वकीय सचिव थापालाई पठाएको विषय बाहिरिएसँगै स्वकीय सचिव थापाले आत्महत्या गरेका थिए ।
स्वकीय सचिवमार्फत करोडमा बार्गेनिङ गरेको मन्त्री श्रेष्ठ आत्महत्या दुरुत्साहनमा पर्ने लगभग निश्चित भएपछि उनको मन्त्रालयले मन्त्रीलाई जोगाउनकै लागि स्वकीय सचिव थापाको मृत्युको कारण बिचौलिया हुनसक्ने भन्दै विज्ञप्ति जारी गरेको हो । धादिङको सिम्ले घर भएका स्वकीय सचिव थापाले करोडौँको बार्गेनिङ नै गरेको अडियो समेत सार्वजनिक भएसँगै मन्त्री श्रेष्ठमाथि नैतिक दबाब बढेको थियो भने मन्त्रीको संलग्नताविना यतिठूलो बार्गेनिङ स्वकीय सचिवले मात्र कसरी गर्न सक्छ भनेर चर्चा चलेको थियो । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता कुमार तामाङद्वारा हस्ताक्षत विज्ञप्तिमा सहकारीको गिरोह र बिचौलियाको अपेक्षाअनुसार मन्त्रालय र कर्मचारीहरूलाई प्रभावित पार्न नसकेपछि उक्त अडियो सार्वजनिक गरेको बताइएको छ ।
विज्ञप्तिमा आर्थिक लेनदेनको कार्यमा मन्त्रालयबाट अन्य कुनै कर्मचारी तथा पदाधिकारी संलग्न नरहेको र आगामी दिनमा समेत यस्तो घटना हुन नदिन मन्त्रालय थप जिम्मेवार र संवेदनशील रहेको उल्लेख गरिएको छ गर्दै सहकारीका केही पक्षहरू बचतकर्ताको रकम असुली प्रक्रियालाई कमजोर बनाउन उद्देश्यमूलक रूपमा गलत प्रचारमा संलग्न भएको उल्लेख छ ।‘उल्लिखित कारबाहीउपर भएका निर्णयलाई कमजोर बनाउन सार्वजनिक अडियोअनुसार सम्बन्धित पदाधिकारीहरुलाई आर्थिक प्रलोभन तथा प्रभावमा पार्न खोज्ने कार्य भएको देखिन्छ’, मन्त्रालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसउपर गिरोह तथा बिचौलियाहरूले अपेक्षितरूपमा प्रभावित पार्न नसकेपछि प्रारम्भिक घटनाक्रमअनुसार माननीय मन्त्रीज्यूको सचिवालयको स्वकीय सचिव बिदामा बस्नु, लगत्तै अडियो प्रकरण सार्वजनिक हुनु र निज स्वकीय सचिव कार्यालयमा नफर्कदै सुसाइट नोटसहित मानवीय क्षति हुनुले यो घटना बिचौलियाहरूको नियोजित र दूष्प्रवृत्तिको उपजको रूपमा देखिएको हुनाले यसमा संलग्नहरूको कुत्सित स्वार्थको मन्त्रालय घोर भत्सर्ना गर्दछ ।’सहकारीमा समस्याग्रस्त घोषणा हुने मितिसम्म आठ सय ४८ जना बचतकर्ताहरूले मन्त्रालयमा उजुरी दर्ता गराएको र जसअन्तर्गत २ अर्ब २५ करोड १४ लाख रुपैयाँ फिर्ताको माग गरिएको विज्ञप्ति उल्लेख रहेको छ ।