काठमाडौं ।लघु जीवन बीमा कम्पनीहरूले ६२ करोड रुपैयाँभन्दा बढी कुल लघु जीवन बीमाशुल्क आर्जन गरेका छन् । बीमा कम्पनीहरूको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिना अर्थात् माघ मसान्तसम्ममा सञ्चालनमा रहेका तीनवटा लघु जीवन बीमा कम्पनीहरूले सात लाख ४६ हजार आठ सयवटा सक्रिय जीवन बीमालेखमार्फत ६२ करोड ५२ लाख ३५ हजार रुपैयाँँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
प्राधिकरणका अनुसार चालू आवको माघ मसान्तसम्ममा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले ५२ हजार चार सय १२ वटा सक्रिय जीवन बीमालेखमार्फत २४ करोड ५१ लाख २१ हजार रुपैयाँँ कुल लघु जीवन बीमाशुल्क आर्जन गरेको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले भने पछिल्लो अवधिसम्ममा एक लाख ३८ हजार सात सय ३० वटा बीमालेखमार्फत २२ करोड ८४ लाख ९७ हजार रुपैयाँँ कुल बीमाशुल्क आर्जन गरेको छ । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले भने पछिल्लो अवधिमा ८३ हजार छ सय ५८ वटा सक्रिय बीमालेखमार्फत १५ करोड १६ लाख १७ हजार रुपैयाँँ कुल बीमाशुल्क आर्जन गरेको छ ।