काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताललाई एक हजार शय्यामा विस्तार गर्ने कार्यमा सहयोग गर्न जापान सरकारसँग आग्रह गरेका छन् ।नेपालका लागि जापानी राजदूत तोरु मायदासँगको हालै भएको भेटमा मन्त्री पौडेलले बालबालिकाको उपचारका लागि विशिष्टिकृत अस्पताल भएपनि पर्याप्त पूर्वाधार नभएकाले सहयोग गर्न जापान सरकारसँग आग्रह गरेका हुन् । भेटका क्रममा मन्त्री पौडेलले मन्त्रालयले घोषणा गरेको एक्सरे फिल्म प्रयोग निरुत्साहित गरेर डिजिटल वितरण योजनामा समेत जापान सरकारबाट साथ अपेक्षा गरेको बताएका थिए । त्यसक्रममा राजदूत मायदाले अस्पताललाई सघाउन सकारात्मक रहेको बताए । राजदूत मायदाले जापान र नेपालबीच लामो सहयोग सहकार्य रहेको भन्दै मन्त्रालयका अनुरोधका पक्षमा सकारात्मक रहेको बताएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले कान्ति बाल अस्पतालको क्षमता विस्तार गरेर बढी क्षमतामा प्रभावकारी बाल उपचार उपलब्ध गराउने योजना सार्वजनिक गरेका थिए । त्यसलाई सफल पार्न विभिन्न क्षेत्रसँग सहकार्य र संवाद भइरहेको छ । यसैक्रममा जापान सरकारसँग सहकार्यको विकल्पबारे पनि खोजी भएको जनाइएको छ ।