दोलखा,दोलखामा हिउँदे वर्षा हुँदा माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिँउदे वर्षाको कारण जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक, शैलुङलगायतका क्षेत्रमा शनिबार बाक्लो हिमपात भएको हो । दोलखामा शुक्रबार मध्यरातिदेखि नै हिमपात तथा पानी पर्न सुरु भएको थियो । कालिञ्चोकमा शुक्रबार रातिबाटै हिमपात भएको कुरीका स्थानीय होटल व्यवसायी हरि ओलीले बताए । ओलीका अनुसार कालिञ्चोक तथा शैलुङमा गत वर्ष मंसिर÷पुषमै हिमपात हुने गरे पनि यस वर्ष ढिलो गरी हिमपात भएको हो । यस वर्ष गत माघमा आशिंकरूपमा हिउँ परेको थियो । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा हिमपात भएपछि यहाँ शनिबार बिहानदेखि नै आन्तरिक तथा बाह्य पर्यटक भरिभराउँ भएका थिए । यस्तै, हिँउका कारण कालिनचोकको कुरी हुँदै सदरमुकाम चरिकोट र दोलखा भीमेश्वर मन्दिर ओहोरदोहोर गर्ने सवारीका साधनलाई भने ओहोरदोहोरमा सकस भएको छ ।
फागुनमा परेको हिउँ तथा वर्षाले हिउँदे बालीलाई पनि राहत मिलेको यहाँका किसानले बताएका छन् । हिउँदे वर्षा तथा हिमपात नहुँदा जिल्लाका आलु तथा गहुँ खेतीका किसान चिन्तित थिए । हिउँदे बाली गहुँ, आलु, मकै तथा तरकारी किसानलाई हिउँदे वर्षा तथा हिमपातले राहत पुगेको छ । लामो समयसम्म हिउँदे वर्षाको पर्खाइमा रहेका बैतेश्वर–८ यवोका स्थानीय आलु कृषक पानी परेपछि उत्साहित भएका छन् । आलु रोपेको दुई महिना बितिसक्दा पनि पानी नपर्दा रोपेको आलु बाहिर निस्कन पाएको थिएनन् । मौसम परिवर्तनसँगै भएको हिमपात र वर्षा अलि दिन लम्बिए आलु तथा हिउँदे कमाइलाई राहत पुग्ने उनीहरूको भनाइ छ । यता तेस्रो दोलखा महोत्सव र जिरी भ्रमण वर्ष चलिरहेको समयमा परेको हिउँले जिल्लाको प्रमुख पर्यटकीय स्थलहरूले दोलखा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सरप्राइज पनि दिएको छ ।