काठमाडौं । बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले सफाइ पाएका छन् । विशेष अदालतले बीमा भ्रष्टाचारको आरोप लागेका सिलवाललाई सफाइ दिएको हो । प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालविरुद्ध २४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नपाएको ओहोदा लिएको र झुटा विवरण पेस गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवालमाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो । नागरिकतामा भएको जन्ममितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका भन्ने आरोपबाट पनि विशेष अदालतले सफाइ दिएको हो । सिलवालले २४ फागुन २०३२ मा पर्साबाट नागरिकता लिएका थिए, त्यतिबेला उनको नागरिकतामा उल्लिखित उमेर १६ वर्ष मात्रै थियो । पछि उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकताको प्रतिलिपी लिए, जसमा उनको जन्ममिति २२ कात्तिक २०१६ थियो । अख्तियारको दाबीअनुसार, त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्टमा उनको जन्ममिति १५ साउन, १०१५ साल भनी उल्लेख छ ।
निजामती सेवामा प्रवेश गर्दा पनि उनले त्यही जन्ममिति अभिलेखमा राखेका थिए । त्यही विवरणका आधारमा उनले पेन्सनपट्टा पाएको, अवकाश लिएको भन्दै अख्तियारले १५ साउन, २०१५ लाई नै सिलवालले जन्ममिति स्वीकारेको आरोप लगाएको थियो । वास्तविकभन्दा तीन वर्ष उमेर घटाएर राहदानी लिएको भन्दै अख्तियारले उनीमाथि मुद्दा चलाएको हो ।
विसं २०८० साउन १५ गते अवकाश हुनुपर्नेमा त्यसलाई छलेर बीमा प्राधिकरणको अध्यक्षमा समेत नियुक्ति लिएको भनी अख्तियारले सिलवालमाथि प्रश्न उठाएको थियो । अख्तियारले उनीमाथि ३६ लाख ६२ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।