काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थाभित्र भएको बेथितिमा नियामक निकाय नेपाल बीमा प्राधिकरणले गर्नसक्ने सम्भावित कारबाही रोक्नका लागि प्राधिकरणकै कार्यकारी निर्देशककी श्रीमतीलाई कम्पनीको शाखाप्रमुख बनाएको देखिएको छ । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक राजुरमण पौडेलकै निर्देशनमा एसियन लाइफले पौडैलकै श्रीमतीलाई नियमनकारी निकायको स्वार्थ बाझिने गरी शाखाप्रमुख बनाएको हो । आफू पदमा बहाल रहेको अवस्थामा पौडेलले आफ्नी श्रीमतीलाई उक्त कम्पनीको शाखाप्रमुख बनाएका हुन् ।
एसियन लाइफमा भएको बेथितिको बारेमा सुरुदेखि नै जानकार रहेका तत्कालीन कार्यकारी निर्देशक पौडेलले ती सबै बेथितिको ढाकछोप र सम्भावित कारबाहीबाट रोक्ने सर्तमा आफ्नी श्रीमतीलाई उक्त कम्पनीमा शाखाप्रमुख बनाउन सफल भएका हुन् । त्यसको लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश श्रेष्ठले आफ्नो कर्तुत ढाकछोप गर्नको लागि पौडेलकी श्रीमतीलाई शाखाप्रमुखको जिम्मेवारी दिएको स्रोतको दाबी छ । स्रोतका अनुसार एसियन लाइफसँग जोडिएको झण्डै तीन वर्षअघिको हत्यासम्बन्धी मुद्दा अहिलेसम्म पनि अदालतमा विचाराधीन अवस्थामा रहेकोमा नियमनकारी निकायले खेल्ने सकारात्मक भूमिका पनि पौडेलकै निर्देशनमा भएको थियो ।
सो कम्पनीमार्फत बीमादाबी भुक्तानी लिनको लागि बाराको कलैयामा आफ्नै श्रीमतीको सलले बेरेर हत्या गरिएको प्रकरणमा प्राधिकरणले एसियन लाइफ इन्स्योरेन्स र कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई संरक्षण गरेको थियो । हत्यासम्बन्धी उक्त घटनाको सम्बन्धमा एसियन लाइफका उच्च तहका कर्मचारीहरूको गम्भीर त्रुटि मात्रै नभई संलग्नताकै आशंका गरिएको थियो । घटनाको सम्बन्धमा प्राप्त तथ्यले एसियन लाइफका उच्च तहका अधिकारीहरूकै संलग्नताको आशंका गर्ने आधारहरू देखाएको थियो ।
तत्कालीन समयमा एसियन लाइफले उक्त प्रकरणमा एक करोड दुई लाख रुपैयाँ भुक्तानी गरेको थियो । भुक्तानी गरेको कुल रकममध्येमा पनि ३० लाख रुपैयाँ तत्कालै एसियन लाइफ इन्स्योरेन्स कम्पनीमा फिर्ता ल्याइएको थियो । कम्पनीको कलैया शाखाले श्रीमतीको हत्या गरी बीमा दाबी भुक्तानी बुझेका नाथु देवानको दुई सन्तानको नाममा ३० लाख रुपैयाँको बीमा पोलिसी काटेर सो रकम फिर्ता ल्याएको थियो ।
२०८० साउन २ गते एसियन लाइफको कार्यालयमा बुझ्न खोज्दा नाथु देवानको छोरा र छोरीको नाममा कुल ३० लाखका दुईवटा बीमा पोलिसी जारी गरेको फेला परेको थियो । बीमासम्बन्धी प्रचलित व्यवस्था र कानुनअनुसार बीमादाबी भुक्तानी दिएपछि लगत्तै पुनः बीमा गर्नु भनेर सो रकम फिर्ता ल्याउन पाइँदैन । तर, एसियन लाइफले बीमादाबी भुक्तानी दिएको एक करोड दुई लाखमध्ये ३० लाख रुपैयाँ कम्पनीमा नै फिर्ता ल्याएको थियो । रकम फिर्ता ल्याउने घटनामा अप्रतक्ष्यरूपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले भूमिका खेलेको आरोप लागेको थियो । तत्कालीन समयमा यो प्रकरणमा श्रेष्ठ समेत शंकाको दायरामा परेका थिए भने उनको भूमिका समेत निकै शंकास्पद देखिएको थियो । दाबी भुक्तानी दिइसकेको रकममध्येबाट ३० लाख रुपैयाँ कम्पनीमा नै फिर्ता ल्याउनुले उक्त घटना थप गिजोलिएको थियो ।
यस प्रकरणमा प्रत्यक्षरूपमा जोडिएका मृतकका पछि नाथु देवानको पनि आफ्नै ५० लाख रुपैयाँको बीमा पोलिसी एसियन लाइफमा नै रहेको थियो । त्यतिबेला उनले तत्कालै थप ३० लाख रुपैयाँको बीमा पोलिसी खरिद गर्ने भन्दै बीमा गरेको देखिएको थियो । तत्कालीन समयमा एसियन लाइफले आपराधिक लाभ हुनेगरी बीमादाबी भुक्तानी लिने नाथु देवानसँग पुनः बीमा गरी ३० लाख रुपैयाँ कम्पनीमै फिर्ता ल्याएको त्यतिबेला नै स्वीकार गरेको थियो । त्यो समयमा कम्पनीले सबै कानुनी प्रक्रिया पूरा गरेर मात्र भुक्तानी दिएको प्रस्टोक्ति दिएको थियो । एसियन लाइफबाट मृत्युदाबी भुक्तानी लिने देवानले विसं २०७९ भदौमा श्रीमतीको हत्या गरेपछि दुर्घटनामा मृत्यु भएको भन्दै प्रहरीमा जाहेरी दिएर शव बुझेका थिए । कम्पनीले घटनास्थल मुचुल्का, पोस्टमार्टम रिपोर्ट, भिसेरा परीक्षणलगायतका सबै परीक्षण सम्पन्न गरेपछि पनि प्रहरी प्रतिवेदन मगाएर मात्रै कम्पनीले दाबी भुक्तानी दिएको जानकारी कम्पनीले दिएको थियो । त्यतिबेला नेपाल पुनर्बीमा कम्पनीले समेत उक्त घटनाको बारेमा प्रहरीसँग लिखित प्रतिक्रिया मागेको थियो ।
उक्त घटनामा हजरा खातुनलाई बीमादाबी भुक्तानी लिई लाभ लिन सलले बेरेर हत्या गरी मोटरसाइकलमा सल बेरिएर मरेको भन्ने प्रहरी प्रतिवेदन बनाएर दाबी भुक्तानी लिएको अभियुक्त नाथु देवानले स्वीकार गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाराले खातुनको हत्याको अनुसन्धान निकै नै फितलोरूपमा गरेको हल्ला त्यतिबेला नै फैलिएको थियो । प्रहरीले उक्त घटनासँग प्रत्यक्ष वा अप्रतक्ष्यरूपमा जोडिएका कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसहितका केही उच्च तहका कर्मचारीलाई जोगाउने गरी अनुसन्धान गरेको जानकारी पनि विभिन्न माध्यमबाट सार्वजनिक भएको थियो । यो मुद्दा अहिले पनि विचाराधीन अवस्थामा नै छ । तर, आजसम्म पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ भने निकै शालिनरूपमा कम्पनीमा प्रमुख कार्यकारी पदमा आसीन रहनुको पछाडि पनि तत्कालीन कार्यकारी निर्देशन पौडेलको संरक्षण रहेको बुझिएको छ ।