काठमाडौं । बीमा कम्पनीहरूले आर्जन गर्ने बीमाशुल्क रकम बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा सञ्चालनमा रहेका १४ वटा निर्जीवन र १४ वटा जीवन समेत गरी २८ वटा बीमा कम्पनीहरूले एक खर्ब २० अर्ब ७८ करोड ८८ लाख ९९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ३० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरूले कुल एक खर्ब नौ अर्ब ५१ करोड चार लाख ४३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।
प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको सात महिनासम्म जीवन बीमा कम्पनीहरूको मात्र बीमाशुल्क रकम ९६ अर्ब एक करोड १८ लाख ९६ हजार रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ४६ प्रतिशतले बढी हो । गत वर्ष माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले कुल ८६ अर्ब ९२ करोड ३१ लाख १० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । चालू आर्थिक वर्षको माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरेको बीमाशुल्क २४ अर्ब ७७ करोड ७० लाख तीन हजार रुपैयाँ छ । प्राधिकरणका अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नौ दशमलव ६९ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन रकम २२ अर्ब ५८ करोड ७३ लाख ३३ हजार रुपैयाँ थियो ।
प्राधिकरणका अनुसार गत माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूमा बीमालेखको संख्या उल्लेख्यरूपमा बढे पनि जीवन बीमा कम्पनीहरूमा बीमालेखको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव चार प्रतिशतले घटेको छ भने सक्रिय जीवन बीमालेखको संख्या बढेको छ । सोअनुसार जीवन बीमा कम्पनीहरूमा चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा कुल जारी बीमालेखको संख्या ३३ लाख ६८ हजार दुई सय ९४ रहेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव चार प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल जारी जीवन बीमालेखको संख्या ४२ लाख ३१ हजार छ सय २४ रहेको थियो । प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म कुल सक्रिय जीवन बीमालेखको संख्या भने एक करोड ४१ लाख ५३ हजार आठ सय ४८ रहेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ६१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल सक्रिय जीवन बीमालेखको संख्या एक करोड ३७ लाख ९४ हजार एक सय ३७ रहेको थियो । चालू आर्थिक वर्षको माघ मसान्तसम्म निर्जीवन बीमालेखको संख्या १८ लाख २१ हजार नौ सय २७ रहेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशमलव ९८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल निर्जीवन बीमालेखको संख्या १७ लाख दुई हजार नौ सय ८७ थियो ।
२०८१ माघ मसान्तसम्ममा बीमाको दायरामा आएको कुल जनसंख्या प्रतिशत म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित ४३ दशमलव ९४ प्रतिशत रहेको छ । जुन २०८० माघ मसान्तको तुलनामा शून्य दशमलव आठ प्रतिशत बढी हो । गत वर्ष माघमा बीमाको दायरामा आएको कुल जनसंख्या ४३ दशमलव १४ प्रतिशत थियो ।