काठमाडौं । नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’मा कलाकार स्वस्तिमा खड्का नियुक्त भएकी छिन् । टेलिकमको केन्द्रीय कार्यालयमा सोमबार आयोजित एक कार्यक्रम खड्कालाई ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र कलाकार खड्काले हस्ताक्षर गरेका छन् । सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरूको प्रबद्र्धन एवम् बजारीकरण कार्यमा सहयोग पुग्ने बताइन् । कार्यक्रममा ब्रान्ड एम्बेसडर खड्काले नेपाल टेलिकमजस्तो गरिमामय एवम् सुपरिचित संस्थासँग आबद्ध हुन पाउँदा खुसी लागेको बताइन् । ब्रान्ड एम्बेसडरको रूपमा कम्पनीको हित अभिवृद्धि हुने गरी कार्य गर्ने उनले प्रतिबद्धता समेत जनाइन् ।
सम्झौताअनुसार ब्रान्ड एम्बेसडरले टेलिकमका सेवाहरूको प्रचारप्रसार, व्यापार प्रवद्र्धन तथा ब्रान्ड संरक्षणसम्बन्धी कार्यहरू गर्नेछन् । हाल एक वर्षका लागि सम्झौता गरिएको हो । दुवै पक्षको आपसी सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने व्यवस्था समेत सम्झौतापत्रमा उल्लेख रहेको छ ।