काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गर्न लागेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले सहकार्य गर्ने भएको छ ।
मन्त्रालयले फागुन २६ र २७ गते राजधानीमा आयोजना गर्न लागेको सम्मेलनमा नाडाको एउटा स्टल समेत रहने छ । यसैगरी सो मन्त्रालयले नाडासंग सहकार्य र समन्वय गर्नेछ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको एक प्रतिनिधि मण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसंग भेटी सम्मेलनको पूर्वतयारी र सहकार्यका बारेमा छलफल गरेको थियो । खासगरी अटोमोबाइल क्षेत्रको तालिमका सम्बन्धमा सहकार्य गर्ने, आवश्यक जनशक्ति निर्माण गर्ने, अटोमोबाइल क्षेत्र बाहिरको सम्भावनाको पहिचान गर्ने, तालिम केन्द्रहरू स्थापना गर्ने, अन्तर मन्त्रालयबीच सहकार्य गर्ने, सहमतिका लागि आन्तरिक र राष्ट्रियस्तरमा गरी दुई तहमा गर्नेजस्ता विभिन्न विषयमा छलफल भएको नाडाले जनाएको छ ।
मन्त्रालयले उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने, आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखापरेका चुनौतीहरूको विश्लेषणगरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने, श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर—तह÷अन्तर निकाय समन्वय र सहकार्य स्थापना गर्ने उद्देश्य राखेर सो सम्मेलन काठमाडौंमा आयोजना गर्न लागेको हो ।
छलफलमा मन्त्रालयका सचिव डा कृष्णहरी पुष्कर, सहसचिव दण्डुराज घिमिरे, अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एयसडीसी)का कार्य समिति सदस्य रितुन्च गुप्ता र प्रमुख कार्यकारी अधिकृत अरिन्डम लाहिरी, नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सहकोषाध्यक्ष पंकज अग्रवाल, वाडाका अध्यक्ष दीपेन्द्र कोइरालालगायतको उपस्थिति रहेको थियो । यसैगरी सो प्रतिनिधिमण्डलले मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (एनएडीए)बीच लागत साझेदारीमा अटोमोबाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारीपत्रमा हस्ताक्षर गर्ने विषयमा समेत छलफल गरेको थियो । सो कार्यका लागि अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एयसडिसी)ले नाडालाई आवश्यक सहयोग गर्नेछ ।
गत जनवरीको १७ देखि २२ सम्म भारतको नयाँ दिल्लीमा सम्पन्न भारत मोबिलिटी २०२५ को सन्दर्भमा नेपालमा दक्ष जनशक्ति तयार गर्न आवश्यक तालिम दिने विषयमा अटोमोटिम कम्पोनेन्ट मेनुफ्याचर्स एसोसिएसन एसीएमए, एयसडीसी र एनएडीएबीच त्रिपक्षीय चार बुँदे सम्झौता समेत सम्पन्न भएको थियो ।