वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले रुसविरुद्धको साइबर अपरेसन रोकेको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले यसका लागि अमेरिकी साइबर कमान्डलाई आदेश दिएको स्रोतले जनाएकोे छ । पेन्टागनसँग सम्बन्धित एक गुप्तचर अधिकारीका अनुसार यी आदेशहरू ट्रम्प र जेलेन्स्कीबीचको भेटघाटअघि नै दिइएको थियो ।
ट्रम्पले युक्रेनयुद्ध अन्त्य गर्नका लागि रुसलाई वार्तामा ल्याउने उद्देश्यले साइबर अपरेसन बन्द गराएको दाबी गरिएको छ । ट्रम्प प्रशासनले रुसविरुद्ध चालिने सबै कारबाहीहरूको समीक्षा गरिरहेको तर यसबारे सार्वजनिकरूपमा कुनै जानकारी दिइएको छैन ।
विदेशमन्त्री मार्को रुबियोले आइतबार भने कि युक्रेनको बारेमा रूसलाई वार्ताको टेबलमा ल्याउनु महत्वपूर्ण छ । मार्कोले यदि पुटिनप्रति विपक्षी दृष्टिकोण अपनाइयो भने, उनलाई वार्ताको टेबलमा ल्याउन नसकिने बताएका छन् ।
दुई पूर्वअमेरिकी अधिकारीहरूका अनुसार दुई देशहरूबीचको कुनै पनि कूटनीतिक र संवेदनशील वार्ताअघि यस्ता मिसनहरूमा रोक लगाउनु सामान्य कुरा हो । तर, रुसविरुद्धको यस्तो कारबाहीबाट पछि हट्नु ठूलो जुवा हो ।
अधिकारीहरूका अनुसार अमेरिकी गुप्तचर सञ्जालमा घुसपैठ गर्ने रुसको प्रयास जारी छ । ट्रम्प प्रशासनको पहिलो हप्तामा रुसले पनि यस्तै कारबाही गरेको थियो । रूसका यी प्रयासहरू यसको लामो समयदेखिको मिसनको हिस्सा हुन् ।
अमेरिकामाथि रुसी साइबर आक्रमण बढ्दै गएको छ । विगत केही वर्षदेखि अमेरिकी अस्पताल र पूर्वाधारमाथि ¥यानसमवेयर (साइबर) आक्रमण बढ्दै गएको छ । यीमध्ये धेरैजसो साइबर आक्रमणहरू रूसबाट भएका छन् । गुप्तचर अधिकारीहरूका अनुसार यी आपराधिक आक्रमणहरूलाई रूसी एजेन्सीहरूले अनुमोदन गरेका थिए ।