काठमाडौँ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)द्वारा मंगलबार आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले नर्सले पनि न्यूनतम पारिश्रमिक पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन पाइँदैन भने । श्रमिकको मन प्रशन्न नभइकन उद्योग–व्यवसायका काम सहजरूपमा अघि बढ्न नसक्ने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले श्रमिक रोजगारदातामा रुपान्तरण हुनसक्ने भएकाले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । उनले मिलेर बसेको नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने तथा काम गर्न खोज्नेविरुद्ध भ्रम र अवरोध सृजना गर्ने प्रवृत्तिलाई चिर्नुपर्ने उल्लेख गरे ।
उक्त कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं जिफन्टका पूर्व अध्यक्ष विष्णुप्रसाद रिमाल, नेकपा (एमाले) को जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, संयुक्त ट्रेड युनियन समन्वय समितिका अध्यक्ष जगत सिङ्खडा, अन्तर्राष्ट्रिय श्रम सङ्गठनका नेपालस्थित राष्ट्रिय निर्देशकलगायत सहभागी थिए । कार्यक्रममा हिमाल आरोही, उद्धारकर्ता र सम्बन्धित संस्थालाई सम्मान गरिएको थियो ।