काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको लापरबाहीले पटकपटक मेलम्चीको पानी थोक वितरण प्रणालीको पाइपलाइनमा क्षति हुने गरेको छ । प्राधिकरणले विद्युत्लाइन भूमिगत गर्नका लागि सडक खनेर पाइप बिच्छ्याउँदा सावधानी नअपनाएको कारणले मेलम्चीको पाइपमा क्षति पुग्दै आएको छ ।
प्राधिकरणकै लापरबाहीका कारण मंगलबार पनि काठमाडौंको थापाथली चोकबाट पूर्वतर्फ प्रसूति गृहतर्फको सडक मुनी बिच्छ्याइएको मेलम्चीको पानी थोक वितरण प्रणालीको पाइपलाइन फुटेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । केयूकेएलका अनुसार मंगलबार बिहान भएको क्षति विगतमा प्राधिकरणले विद्युत्लाइन भूमिगत गर्नका लागि सडक खनेर पाइप बिच्छ्याउँदा सावधानी नअपनाएको कारणले भएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।
विद्युत्लाइन भूमिगत गर्नका लागि पाइप बिच्छ्याउँदा मेलम्चीको पाइपको तल, माथि, दायाँ र बायाँ कम्तीमा एक मिटरको दूरी राख्नुपर्ने विगतको समझदारीविपरीत प्राधिकरणले सडक खनेर मेलम्चीको पाइपमाथि नै विद्युत्को पाइप राखेको पाइएको केयूकेएलअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का आयोजना उपनिर्देशक एवम् प्रवक्ता ई चन्द कुमार पाँ श्रेष्ठले जानकारी दिए । विद्युत्लाइन विस्तारका क्रममा मेलम्चीको पाइपमा चोट लागेको स्थलगत अध्ययनबाट देखिएको उनले बताए । उनका अनुसार आइतबार बानेश्वर क्षेत्रमा पाइपलाइन मर्मतका लागि माइतीघरस्थित भल्भ बन्द गरिएको थियो । ललितपुरको ज्वागलमा रहेको एयर भल्भ पनि बन्द रहेकै अवस्थामा एकान्तकुनाबाट माइतीघरतर्फ पानी आउँदा चाप बढ्न गई चोट लागेको ठाउँमै मेलम्चीको पाइप फुटेको पाइएको उनले बताए ।
पाइप फुटेर सडकमा पानी निस्कनासाथ पीआईडी र केयूकेएलका प्राविधिकहरू खटाई त्यस क्षेत्रको पानी प्रवाह बन्द गरिएको उनले जानकारी दिए । यसैगरी, काठमाडौं महानगरपालिकाले सडकमा जमेको पानीको निकासको व्यवस्था मिलाएको थियो । सडकमा जम्मा भएको बालुवा, गिट्टी र माटो सफा गर्ने काम पनि महानगरपालिकाबाट नै भएको थियो ।
यस्तै, थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु गरिएको छ । केयुकेएलको प्राविधिक टोलीले फुटेको पाइपलाइन मर्मत कार्य सुरु गरिएको केयुकेएलका इञ्जिनियर प्रकाश बरालले जानकारी दिए । खानेपानीमन्त्री प्रदीप यादवले थापाथलीमा के कारणले मेलम्चीको पाइप लाइन फुटेको हो सो विषयमा पत्ता लगाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई निर्देशन दिएका छन् । ‘के कारणले पाइप फुटेको हो । त्यसको यकिन कारण पत्ता लगाउन छानबिन गरी अब उप्रान्त यस्ता घटना दोहरिन नदिनुहोला’ मन्त्री यादवले भने । बिहानै पाइप फुट्दा उक्त क्षेत्रमा बाढी आएर जलमग्न हुनुका साथै सडक समेत अवरुद्ध भएको थियो । थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलहरूमा पसेको थियो ।