दोलखा । जिल्लाको शैलुङ गाउँपालिका–५ का किसानहरू परम्परागत खेतीको विकल्प खोज्दै नगदे बाली तोरीखेतीतर्फ लागेका छन् । यहाँका किसानहरूले तोरी उत्पादन गरि पेलेर तेल समेत उत्पादन गर्न थालेका छन् ।
यहाँ तोरी खेती गर्ने किसान बढेपछि वडाले तेल पेल्ने मेसिन समेत सञ्चालनमा ल्याएको छ । अन्न बालीबाट खासै आम्दानी नभएपछि परीक्षणको रूपमा गरिएको तोरीखेती गरिएको थियो । तोरीखेतीबाट राम्रो उत्पादन र आम्दानी भएपछि किसानहरू तोरीखेतीमा आकर्षित भएका हुन् । उत्पादित तोरीलाई पेल्ने मेसिन पनि वडामा नै जडान गरिएकाले झनै सहज भएको यहाँका किसान रत्नबहादुर तामाङले बताए । तामाङ आफैँले पनि धानकोदो रोप्ने बारीमा अहिले तोरी लगाएका छन् । गत वर्षबाट तोरी खेतीमा लागेका उनले यस वर्ष दुई रोपनीमा क्षेत्रमा तोरी लगाएको जानकारी दिए । तोरी पेलेर आएको तेलले घरमा खाने, बिक्री गर्ने तथा आफन्तलाई कोसेली दिने गरेको उनले बताए । उनका अनुसार वडाको आफ्नै मेसिन भएपछि तोरी पेल्न अन्यत्र जानु परेन । यो सुविधाले किसान अझ तोरीखेतीप्रति आकर्षित हुनेछन् । ‘अहिले दुई रोपनीमा तोरीखेती गरेको छु । राम्रै उत्पादन हुँदै आएको छ’, तामाङले भने । अरू खेतीभन्दा सजिलो भएकाले तोरीखेती गर्ने सोच पलाएको उनको भनाइ छ ।
‘मकैपछि कोदो लगाउने गरिएको थियो । कोदोबाट आम्दानी हुन सकेन’, उनले भने, ‘मकैखेतीपछि अब कोदो नलगाएर सबै बारीमा तोरी खेती गर्ने सोच बनाएको छु ।’ अर्का किसान विष्णु श्रेष्ठले पनि तोरीखेतीलाई विस्तार गर्न लागेको बताए । उनले अहिले तीन रोपनीमा तोरीखेती गरेको सुनाए । ‘तोरीखेतीबाट शुद्ध तेल पाउनु मात्रै होइन, पिनाबाट प्राङ्गारिक तथा जैविक विषादी बन्ने रहेछ । यो खेती बहुउयोगी सावित हुन लागेको छ’, उनले भने, ‘वडामा नगदेबाली तोरीखेतीको प्रचुर सम्भावना देखिएको छ । यो वर्ष करिब दुई सय जनाले तोरीखेती गरेका छन् ।’ यस खेतीलाई प्रोत्साहन र विस्तार गर्न चालु आर्थिक वर्षमा वडाले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको वडाध्यक्ष दिलकुमार तामाङले बताए । वडाले प्राविधिक सहयोगसँगै तोरीखेती गर्नेहरूलाई मल, बिउविजन समेतका लागि वितरण गर्ने गरेको छ ।
वडाध्यक्ष तामाङका अनुसार हरेक वर्ष तोरीखेती गर्नेको संख्या बढेपछि गाउँको युगान्तकारी सहकारीको २० प्रतिशत र वडाको ८० प्रतिशत गरी साढे चारख रुपैयाँमा पेल्ने मेसिन जडान गरिएको छ । मेसिन मर्मत समेतका लागि प्रतिकिलो तोरी पेलेको २५ रुपैयाँमा तेल पेल्न थालिएको छ । सहकारीसँग मिलेर गाउँमा उत्पादिन तोरी खरिद गर्ने र शुद्ध तेल प्याकिङ गरी बिक्री गर्ने पनि तयारी पनि भइरहेको वडाध्यक्ष तामाङले जानकारी दिए । पछिल्ला वर्षहरूमा शैलुङ सयौं किसानले परम्परागत खेतीको विकल्प खोज्दै नगदे खेती तथा फलफूल र तरकारी खेतीतर्फ आकर्षित बन्दै गएका छन् ।