वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको बहसको तीन दिनपछि, अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोक्ने घोषणा गरेको छ ।
यो आदेश तुरुन्तै लागू हुने ब्लूमबर्गले रिपोर्ट गरेको छ । अमेरिकाबाट युक्रेन नपुगेको सहायता पनि रोकिएको छ । यसमा पोल्याण्ड पुगेका सामानहरू पनि समावेश छन् ।
यस सम्बन्धमा युक्रेनी प्रधानमन्त्री डेनिस श्मिहालले उपलब्ध सबै माध्यमबाट शान्तिपूर्ण तरिकाले अमेरिकासँग सहकार्य जारी राख्ने बताएका छन् । उनले युक्रेनको लागि अमेरिकी सैन्य सहयोग अत्यन्तै आवश्यक रहेको र यसले हजारौंको जीवन बचाउन मद्दत गरेको बताएका छन् ।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपतिले साँच्चै शान्ति चाहन्छन भन्ने कुरामा विश्वस्त नभएसम्म सबै सहायता रोक्ने घोषणा गरेका छन् ।
युक्रेनलाई सैन्य सहयोग रोक्नुभन्दा केही घण्टा अघि ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनले भने, ‘अमेरिकी समर्थन रहेसम्म जेलेन्सी शान्ति चाहँदैनन् । यो जेलेन्सीले दिएको सबैभन्दा खराब बयान हो । अमेरिकाले यो सहन सक्दैन ।’
बाइडेन प्रशासनले जनवरी २० मा एक विज्ञप्तिमा फेब्रुअरी २०२२ देखि युक्रेनलाई ६५ दशमलव नौ अर्ब डलरको सैन्य सहायता प्रदान गरेको थियो ।