वासिङ्टन । मेक्सिको र चीनबाट आयात हुने वस्तुमा अमेरिकाले शुल्क बढाएर लागू गरेपछि संयुक्त राज्य अमेरिका र यसका सबैभन्दा ठूला आर्थिक साझेदारहरूबीच व्यापार युद्ध बढेको छ । अमेरिकाले शुल्कहरू बढाएर लागू गरेपछि बेइजिङ र अटावा यसको प्रतिकारमा उत्रिएका छन् ।
विश्लेषकहरूले सन् १९४० को दशकपछि सबैभन्दा ठूलो आयात शुल्कहरू लगाएको भन्दै गरेको प्रतिक्रियामा एसिया र युरोपका बजारहरूमा गिरावट आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरीमा प्रमुख व्यापारिक साझेदारहरू क्यानाडा र मेक्सिकोमाथि गैरकानुनी आप्रवासन र लागुऔषध तस्करीलाई रोक्न असफल भएको आरोप लगाउँदै एकमुस्ट २५ प्रतिशत शुल्क घोषणा गरेका थिए । त्यसपछि स्थगित पनि गरेका थिए । उनले मंगलबार दुवै मोर्चामा प्रगति नभएको उल्लेख गर्दै ती शुल्कहरू लागू गरेका हुन् ।
यी शुल्कले दुवै मुलुकबाट नौ खर्ब १८ अर्ब डलरभन्दा बढीका अमेरिकी आयातमा असर पार्नेछ र सवारीसाधन र निर्माण सामग्रीजस्ता स्वचालित क्षेत्रका लागि आपूर्ति शृङ्लालाई बाधा पुर्याउनेछन् ।
क्यानाडाले आफ्नै प्रतिशोधात्मक २५ प्रतिशत शुल्कका साथ प्रतिक्रिया दियो भने मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले अमेरिकी कदमका लागि कुनै औचित्य नभएको बताए र आफ्नै शुल्कका साथ प्रतिकार गर्ने बाचा गरे ।
ट्रम्पले सोमबार विभिन्न चिनियाँ वस्तुहरूमा पहिलेदेखि नै लागू भएका शुल्कहरूमाथि लगाइएको १० प्रतिशत शुल्कलाई २० प्रतिशत बढाउने आदेशमा हस्ताक्षर गरेका छन् ।
बेइजिङले ‘अमेरिकाद्वारा एकतर्फी शुल्क लगाउने’ कार्यलाई निन्दा गर्दै संयुक्त राज्य अमेरिकाबाट विभिन्न कृषि आयातमा १० र १५ प्रतिशत शुल्क लगाउने घोषणा गरेको छ । विशेषज्ञहरूले बढेका आयात लागतले उपभोक्ताका लागि मूल्य बढाउन सक्ने र यसले मुद्रास्फीति कम गर्ने प्रयासलाई जटिल बनाउने चेतावनी दिएका छन् ।
त्यसमा किराना पसलहरू पनि समावेश छन् । मेक्सिकोले अमेरिकी तरकारी आयातको ६३ प्रतिशत र फल तथा बदाम आयातको करिब आधा हिस्सा अमेरिकी कृषि विभागअनुसार सन् २०२३ मा आपूर्ति गरेको थियो ।
आवास लागत पनि प्रभावित हुन सक्छ । होमबिल्डरहरूलाई चाहिने दुई प्रमुख सामग्री नरम काठ र जिप्समको ७० प्रतिशतभन्दा बढी आयात क्यानाडा र मेक्सिकोबाट आएको नेसनल एसोसिएसन अफ होम बिल्डर्सले जनाएको छ ।
मेक्सिकोको ओटे मेसा सीमा पार गर्ने ट्रक चालकहरूले एएफपीलाई मंगलबार बिहान अमेरिका प्रवेश गर्न पर्खँदा नै असर महसुस गरिरहेको बताएका छन् ।
मेक्सिकोको सीमावर्ती सहर तिजुआनाका धेरै कम्पनीले चिनियाँ सामानहरू निर्यात गर्ने भएकाले काम घट्दै गएको चालक एन्जेल सर्भान्तेसले बताए । ‘चीनविरुद्ध पनि शुल्क लागू भएकाले (ढुवानी) कम्पनीहरूका लागि काम घट्दै छ’, उनले भने ।
ओटावाले ३० अर्ब डलर मूल्यका सामानमा लगाएको २५ प्रतिशत कर मंगलबार मध्यरातदेखि लागू भएको छ । ‘क्यानाडाले यो अन्यायपूर्ण निर्णयलाई विनाजवाफ छाड्ने छैन’, क्यानाडाका एक खर्ब ५० अर्ब डलरभन्दा बढी सामानहरूमा केही हप्ताभित्र शुल्क लगाउने उल्लेख गर्दै प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन् ।
चीनको कर आगामी हप्ता लागू हुनेछ र यसले अमेरिकी सोयाबिनदेखि कुखुरासम्मको आयातमा दशौँ अर्ब डलरका आयातलाई प्रभावित गर्नेछ । चीनले अमेरिकी काठको सबै आयात स्थगित गरेको छ र तीन अमेरिकी निर्यातकहरूबाट सोयाबिन ढुवानी रोकेको छ ।