काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई कार्यान्वयनमा ल्याउने क्रममा एउटा व्यक्तिको एउटै खाताबाट एकै प्रकृतिको कार्ड जारी गर्न नपाइने व्यवस्था गरेको छ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त सबै संस्थाहरूको नाममा बुधबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
निर्देशनअनुसार अबदेखि प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकै प्रकृति (डेविट/क्रेडिट/प्रिपेड)को एकभन्दा बढी कार्ड जारी गर्न पाइने छैन । तर, डोमेस्टिक कार्ड योजनाअन्तर्गतका कार्डहरू जारी गर्दा यो व्यवस्थाले बाधा पु¥याएको नमानिने परिपत्रमा उल्लेख छ । यसअघि प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकभन्दा बढी कार्ड (पूरक कार्ड) जारी गर्न नपाइने व्यवस्था रहेको परिपत्रमा उल्लेख छ । भुक्तानी सेवा प्रदायक कम्पनीहरूले ग्राहकलाई विद्युतीय कार्ड जारी गर्दा आवेदन फारमसँगै कार्ड जारी गर्दा र कारोबार गर्दा लाग्ने शुल्क, कारोबारको सीमा, कार्डको प्रयोग गर्दा लाग्ने ब्याजदर, कार्डबाट प्राप्त हुने अन्य सुविधालगायतका विषय समेटिएको सूचनामूलक सामग्री प्रदान गर्नुपर्ने व्यवस्थालाई भने नयाँ परिपत्रमा हटाइएको राष्ट्र बैंकको भनाइ छ ।
विद्युतीय भुक्तानी कार्डबाट हुने कारोबारको सेटलमेन्ट सम्बन्धमा अनुमतिपत्रप्राप्त संस्थाहरूले जारी गरेका विभिन्न भुक्तानी कार्डहरूबाट नेपालमा नेपाली रुपैयाँँमा गरिने कारोबारको फछ्र्यौट नेपालभित्रै गर्ने व्यवस्था मिलाउनुपर्ने परिपत्रमा उल्लेख छ । ‘यो प्रयोजनार्थ अन्तर्राष्ट्रिय स्वीचहरूको लागि कुनै जमानत÷बन्ड जारी गर्नुपर्ने भए नेपाली रुपैयाँँमा जारी गर्नुपर्छ’, राष्ट्र बैंकले भनेको छ ।
शाखारहित बैंकिङ सेवा बन्द गर्न पनि राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ । उक्त सेवा बन्द गर्न कम्तीमा छ महिनादेखि सेवा सञ्चालन नभएको र शाखारहित बैंकिङ सेवा बन्द गर्न प्रस्ताव गरिएको क्षेत्रमा करिब पाँच किमिवरिपरि क, ख तथा ग वर्गका बैंक तथा वित्तीय संस्था वा अन्य शाखारहित बैंकिङ सेवा सञ्चालन भई वित्तीय पहुँचको वैकल्पिक व्यवस्था हुनुपर्ने परिपत्रमा उल्लेख छ ।