काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकले सरकारले संसदमा पेश गरेका पाँच वटै अध्यादेश बहुमतले स्वीकृत गरेको छ । बुधबारको बैठकमा सरकारले अध्यादेशलाई निर्णयार्थ पेस गरेको थियो ।
अध्यादेशमा विपक्षी दलका सांसदले राखेका अस्वीकार प्रस्ताव बहुमतबाट अस्वीकृत गर्दै पाँचै अध्यादेश बहुमतबाट पारित भएका हुन् । जसमा सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, त्यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश, २०८१, निजीकरणसम्बन्धी अध्यादेश, २०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ रहेका छन् । प्रतिनिधि सभाबाट पाँच वटै अध्यादेश स्वीकृत भएसँगै अब राष्ट्रिय सभामा पनि निर्णयार्थ पेस हुनेछन् । प्रतिनिधि सभामा कांग्रेस–एमालेको मात्रै पनि बहुमत छ, तर राष्ट्रिय सभामा अध्यादेश स्वीकार गर्न ३ सांसद भएको उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको साथ जरुरी पर्छ ।