रुपन्देही । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको सन्देश दिने थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोहको उद्घाटन गर्दै उनले विश्वभर अस्थिरताको संकेत देखापरेको अवस्थामा बुद्धको शिक्षाले शान्ति कायम गर्न सक्ने बताए । बुद्धको शिक्षाहरूलाई पुनर्ताजगी गराई त्रिपिटक पाठले विश्वमै लुम्बिनीबाट शान्तिको सन्देश जाने उनको विश्वास छ । यस्तै, उनले लुम्बिनी विकास कोषले पूर्वाधार विकाससँगै त्रिपिटक पाठजस्ता अन्तर्राष्ट्रियस्तरका कार्यक्रमलाई बढाउनुपर्ने पनि उनले बताए ।
अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा बुधबारदेखि त्रिपिटक वाचन सुरु गरिएको छ । फागुन २५ गतेसम्म चल्ने त्रिपिटक पाठ समारोह बिहान साँढे ७ बजेदेखि साँझ ५ बजेसम्म मायादेवी मन्दिर परिसरमा चल्नेछ । त्रिपिटक वाचन समारोहमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बौद्ध धर्म गुरुहरूले विश्व शान्ति तथा मानव कल्याणका लागि विश्व समुदायको ध्यानाकर्षण समेत गराएका छन् । सो समारोहमा नेपाल, भारत, श्रीलंका, कम्बोडिया, थाइल्यान्ड, चीन, कोरिया, जापानलगायत १६ देशका लामा, बौद्ध भिक्षुभिक्षुणी गरी करिब दुई हजारको सहभागिता रहेको छ ।
महासंघले मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बौद्ध साहित्यको प्रचारप्रसार गर्ने उद्देश्यले सो आध्यात्मिक कार्यक्रम आयोजना गरेको हो । शाक्यमुनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि करिब ४५ वर्षसम्म विभिन्न स्थानमा निरन्तर प्रदान गरेका उपदेश तथा आध्यात्मिक ज्ञान सग्रहित ग्रन्थ त्रिपिटक हो । महासङ्घका कोषाध्यक्ष भिक्षु बोधिज्ञानले विश्वका विभिन्न शक्ति राष्ट्रबीचको द्वन्द्व अन्त्य गरी सुखपूर्वक मानिसको जीवनयापनको अधिकारलाई सुनिश्चित गर्न यस्ता आध्यात्मिक गतिविधि महत्वपूर्ण हुने बताए ।
अभिधर्म, सूत्र र विनय गरी तीन भागमा वर्गीकरण गरिएको त्रिपिटकलाई बौद्ध साहित्यमा मूल ग्रन्थ मानिएको छ । उक्त ग्रन्थलाई विभिन्न भाषामा अनुवाद गरिएको छ । थेरवाद, महायानलगायत सबै सम्प्रदायका बौद्ध धर्मावलम्बीले अवलम्बन गर्ने यो ग्रन्थलाई सम्बन्धित सम्प्रदायको धार्मिक प्रभावअनुसार अभ्यास गर्ने गरेको पाइन्छ । बुद्धले बोधगयामा बुद्धत्व प्राप्त गरेका थिए । त्यसपछिका ४५ वर्ष उनले मानिसहरूलाई धर्म–दर्शन तथा सामाजिक जीवनका कुरा बताए । बुद्धका ती उपदेशलाई उनीहरू ‘बुद्ध वचन’का रूपमा स्मृतिमा सँगाल्थे र छलफल समेत गर्थे । तर त्यसबेला लिपिबद्ध गर्ने काम हुन सकेन ।
बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सुत्त पिटक र अभिधम्म पिटकको वाचन गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भिक्षु तथा धर्मगुरुले सुत्तपिटकअन्तर्गतको दीर्घ निकायको ब्रह्मजाल सूत्र वाचन गरेर त्रिपिटक वाचनको सुरुवात गरेका हुन् । पाली भाषामा लेखिएको त्रिपिटक ग्रन्थलाई विभिन्न भाषामा अनुवाद गरिएको छ । यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयदेखि महापरीनिर्वाण हुनुअघिसम्म दिएका प्रवचन सङ्ग्रह गरिएको छ । पाली भाषामा लेखिएको त्रिपिटकमा ८४ हजार धार्मिक उपदेश समावेश गरिएका छन् । तिनै सङ्ग्रहको एकमुष्ट समूहलाई नै बुद्धधर्मको अमूल्य र पवित्र ग्रन्थ मानिएको हो । शान्ति, अहिंसा, कुशल कार्य र मन शुद्धीकरण गर्नका लागि त्रिपिटकको ज्ञान र अध्ययन आवश्यक छ । त्रिपिटक बौद्ध धर्मको एउटै ग्रन्थ नभई गौतम बुद्धका उपदेश, वचन र सूत्रको तीन थरी दृष्टिकोण हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार तिलकराम आचार्यले अन्तर्राष्ट्रिय समुदायलाई लुम्बिनीका पुरातात्विक महत्वका सम्पदास्थलबारे प्रचार तथा तीर्थाटनलाई प्रेरित गर्न, बौद्ध शिक्षा, साहित्य तथा दर्शनको महत्वबारे जानकारी गराउन त्रिपिटक वाचन कार्यक्रमले सहयोग गर्ने बताए । कार्यक्रममा बुद्ध वचनको सग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधर्म पिटकको वाचन गरिनेछ । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक इन्द्र काफ्लेका अनुसार बौद्ध दर्शनसम्बन्धी गम्भीर कुरा ‘अभिधम्म पिटक’ मा संकलित छन् । ‘अभिधम्म पिटक’ को विषयवस्तु भिक्षु महाकाश्यपको रचना मानिन्छ । लुम्बिनीमा आयोजित त्रिपिटक वाचन कार्यक्रममा आध्यात्मिक एवं धार्मिक गतिविधिले त्यस क्षेत्रको महिमा थप उचाइमा पुगेको छ ।