काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतीय सिमाना नजिक बनाइने प्रस्तावित सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकनपछि जलेश्वर उद्योग वाणिज्य सङ्घले बिहीबार भिट्ठामोडमा आयोजना गरेको छलफलमा उनले सो प्रतिबद्धता जनाएका हुन् ।
आफ्नो पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको एउटा उद्देश्य सीमा क्षेत्रका जनताको अवस्था बुझ्ने र विकास निर्माणका काम अघि बढाउने उनले बताएको अध्यक्ष दाहालको निजी सचिवायलयले जनाएको छ ।
अध्यक्ष दाहालसमक्ष जलेश्वर उद्योग वाणिज्य सङ्घले ज्ञापनपत्र पनि बुझाएको थियो । कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकका सामान आयात निर्यात गर्न जलेश्वर भन्सारबाट एकतर्फी २२५ किलोमिटर मात्रै रहेको जानकारी गराउँदै सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले यो बन्दरगाह मधेसका सबै जिल्लालाई पायक पर्ने स्थान रहेको राससलाई बताए ।