काठमाडौं । अभौतिक मुद्राको कारोबारमा संलग्न एक जना र उनलाई लुटपाट गरेको अभियोगमा छ जनासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अभौतिक मुद्राको कारोबारमा संलग्न धादिङ खनियाबास गाउँपालिका–४ घर भई काठमाडौं टोखा नगरपालिका–८ ग्रिनल्यान्ड मिलनटोल बस्ने २६ वर्षीय रोशन गुरूङ तथा लुटपाटमा संलग्न प्युठान गौमुखी गाउँपालिका–४ बस्ने ३६ वर्षीय राजेन्द्रबहादुर केसी, बाँके बैजनाथ गाउँपालिका–७ बस्ने ३५ वर्षीय खगेन्द्र मल्ल ठकुरी, खोटाङ रावा बेसी गाउँपालिका–४ बस्ने २४ वर्षीय हिरा मंग्राती, मोरङ सुन्दरहरैंचा नगरपालिका–२४ बस्ने २४ वर्षीय कपिल बस्नेत, दोलखा घर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका–६ बस्ने ३१ वर्षीय संजोक तामाङ र मोरङ बेलबारी घर भई हाल विराटनगर महानगरपालिका–३ बस्ने २० वर्षीय मनिसकुमार राय रहेका छन् ।
काठमाडौं महानगरपालिका–३ तिलिङ्गेटारमा अभौतिक मुद्राको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले रोशनलाई काठमाडौं महानगरपालिका–३ तिलिङ्गेटारबाट सोमबार पक्राउ गरेको थियो । साथै, थप अनुसन्धानको क्रममा उनको साथमा रहेको नगद १४ लाख रूपैयाँ लुटपाट भएको भनी खुल्न आएपश्चात लुटपाटमा संलग्न राजेन्द्र बहादुरसमेत छ जनालाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा रोशनले एक अर्ब ८७ करोड सात लाख १३ हजार एक सय ६२ रूपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गरेको खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।