काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विक २०२५ मनाउने तयारी गरेको छ । बुधबार सार्वजनिकरूपमा सूचना जारी गर्दै राष्ट्र बैंकले बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन अफ इकोनोमिक कर्पोरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) संयोजनमा सन् २०१२ देखि ग्लोबल मनी विक मनाउँदै आएको छ । सोही क्रममा यही चैत चार गते देखि १० गतेसम्म अर्थात् मात्र १७ देखि २३ सम्म ग्लोबल मनी विक मनाउन लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार यो वर्ष ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमरो’ भन्ने मूल नाराका साथ ग्लोबल मनी विकको १३औँ संस्करण मनाउन लागिएको हो । यसको लागि राष्ट्र बैकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्ने छ । यसको अतिरिक्त विभिन्न गैरसरकारी संस्था र अन्य सरोकारवाला संघसंस्थाहरू पनि यस अभियानमा आबद्ध हुनसक्ने भएकोले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण संघसंस्था र निकायहरूलाई यस अभियानमा सहभागी हुन राष्ट्र बैंकले आग्रह गरेको छ ।