काठमाडौं । बैंकिङ प्रणालीमा यस आर्थिक वर्षको छ महिनामा दुई खर्ब ३९ अर्ब छ करोड रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुस मसान्तसम्म निक्षेप तीन दशमलव सात प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो छ महिनामा निक्षेप सङ्कलन छ दशमलव ६० प्रतिशत अर्थात् तीन खर्ब ७७ अर्ब सात करोड रुपैयाँले बढेको थियो ।
छ महिनामा बैंक वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती खातामा जम्मा भएको पैसाको अंश क्रमशः पाँच दशमलव छ प्रतिशत, ३४ दशमलव एक प्रतिशत र ५२ दशमलव पाँच प्रतिशत छ । गत वर्ष समीक्षा अवधिमा क्रमशः छ दशमलव आठ प्रतिशत, २६ दशमलव सात प्रतिशत र ५९ दशमलव नौ प्रतिशत थियो । २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलव पाँच प्रतिशत छ । २०८० पुस मसान्तमा यस्तो निक्षेपको अंश ३६ दशमलव छ प्रतिशत थियो ।
बैंक वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा दुई खर्ब ६५ अर्ब ५६ करोड अर्थात् पाँच दशमलव दुई प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ९२ अर्ब ६४ करोड अर्थात् चार प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा सात प्रतिशतले बढेको छ । २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव दुई प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव दुई प्रतिशत र ३६ दशमलव आठ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह पाँच दशमलव तीन प्रतिशतले, विकास बैंकहरूको चार दशमलव ४४ प्रतिशतले र फाइनान्स कम्पनीहरूको कर्जा प्रवाह पाँच दशमलव तीन प्रतिशतले बढेको छ । २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १४ दशमलव पाँच प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६४ दशमलव नौ प्रतिशत रहेको छ । २०८० पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११ दशमलव चार प्रतिशत र ६७ दशमलव सात प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८१/८२ को छ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ दशमलव चार प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा सात दशमलव सात प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा चार दशलव आठ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा पाँच दशमलव सात प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा पाँच दशमलव सात प्रतिशतले, उपभोग्य क्षेत्रतर्फको कर्जा पाँच दशमलव आठ प्रतिशतले र कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शून्य दशमलव शून्य दुई प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा तीन दशमलव एक प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा २६ दशमलव तीन प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा ५६ दशमलव छ प्रतिशतले, हायर पर्चेज कर्जा तीन दशमलव आठ प्रतिशतले, नगद प्रवाह कर्जा चार दशमलव सात प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) तीन दशमलव दुई प्रतिशतले बढेको छ । अवधिमा अधिविकर्ष कर्जा भने नौ दशमलव आठ प्रतिशतले घटेको छ ।