काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विराटनगरमा ‘हेलो सरकार पोर्टल’ सञ्चालन तथा गुनासो व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय गोष्ठी आयोजना गरेको छ । बिहीबार आयोजित सो गोष्ठीमा कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्माले नागरिकको गुनासो सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ एपबाट जनता उत्साहित भएका बताए ।
कार्यक्रममा उनले राष्ट्रसेवक कर्मचारीले सकेसम्म गुनासो आउन नदिनेतर्फ सचेत रहनुपर्नेमा जोड दिए । पहुँचविहीन नागरिकको समस्या तत्काल सम्बोधन भएमा राष्ट्रसेवक कर्मचारीप्रति नागरिकको धारणामा पनि परिवर्तन आउने उनको भनाइ थियो । कोशी प्रदेश सरकारले सञ्चालनमा ल्याएको हेलो मुख्यमन्त्री (सीएम) कार्यक्रममा तीन महिनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालसँग सम्बन्धित सात वटा मात्र गुनासो आएको उनले जानकारी दिए । यसमा पाँच वटा गुनासो सम्बोधन समेत भइसकेका उनले बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुई महिनाको अवधिमा करिब तीन हजार गुनासो सम्बोधन भइसकेको जानकारी दिँदै नागरिकका गुनासो र समस्यालाई शून्यमा झार्नेगरी काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिए । परिवर्तनको विकल्प नरहेकाले परिवर्तनका लागि पनि दत्तचित भएर सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव प्रेमशरण श्रेष्ठले हेलो सरकार पोर्टल सञ्चालन तथा गुनासो व्यवस्थापनसम्बन्धी, कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन निरौलाले हेलो सीएम, प्रधानमन्त्री कार्यालयका इन्जिनियर विनय सुवेदीले पोर्टल सञ्चालनसम्बन्धी प्रविधि ज्ञान र हेलो सरकार एपका उपसचिव तुलराज सुनुवारले ‘हेलो सरकार’सम्बन्धी आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।