मानिसको स्वभाव नै सुख खोज्ने हुन्छ र त्यो मुख्यरूपमा आर्थिक स्थायित्वमा निर्भर गर्छ । आजको युगमा पैसाविना सहज जीवन बिताउन गाह्रो छ । किनभने हरेक आधारभूत आवश्यकताका लागि आर्थिक स्रोत आवश्यक छ । खानपान, स्वास्थ्य, शिक्षा, बसोबास, मनोरञ्जन पैसाविना सम्भव देखिँदैन ।
शिक्षा भनेको व्यक्ति सफल हुने आधार हो तर शिक्षाले मात्र पैसा दिन्छ भन्ने होइन । ज्ञानसँगै अवसर र सही दिशा आवश्यक पर्छ । केही कुराहरू सिकेर मात्र हुँदैन, ती सिकाइलाई सही ठाउँमा प्रयोग गर्न सक्नुपर्छ । नेपालमा रोजगारीको अवसर सीमित भएकाले शिक्षित युवा पनि सही अवसर नपाएर विदेश जान बाध्य छन् । विदेशमा जाँदा सीपको मूल्याङ्कन हुन्छ र राम्रो अवसर पाइन्छ भन्ने मान्यता नेपाली जनमानसमा हुर्किँदै गएको छ, जसले गर्दा नेपाली युवाहरू विदेश पलायन बढेको छ ।
पहिले अन्न, जमिन, घर भएका व्यक्ति धनी मानिन्थे । तर अहिले ‘क्यास फ्लो’ (निरन्तर पैसा आउने स्रोत) भएका व्यक्ति धनी मानिन्छन् । चाहे त्यो व्यवसाय, जागिर, लगानी वा अन्य कुनै माध्यमबाट होस्, मुख्य कुरा पैसा निरन्तर आउनुपर्छ । संसारभरि नै रोजगारी पाउन राम्रो शिक्षा, अनुभव र सीप आवश्यक पर्छ । व्यवसाय गर्न सही सोच, लगानी, जोखिम उठाउने क्षमता र व्यवस्थापन सीप चाहिन्छ । दुवै अवस्थामा सिकाइ र परिश्रम अपरिहार्य छ ।
नेपालमा मेहनत गर्न चाहने धेरै व्यक्ति छन्, तर उनीहरूका लागि समस्या धेरै छन् । भौगोलिक कठिनाइ, देशमै अवसर सिर्जना गर्नुपर्ने सोचको अभाव, राज्यले युवाको चाहनाअनुसार पूर्वाधार बनाउन नसक्नु, देखासिखी गर्ने प्रवृत्ति, विदेश गएपछि सबै समस्या हल हुन्छ भन्ने मानसिकता र भविष्यप्रति अन्योलजस्ता कारणहरूले गर्दा नेपालबाट युवा पलायन बढ्दो क्रममा छ ।
शिक्षा, सही दिशा, अवसरको खोजी र निरन्तर मेहनत गरे मात्र आर्थिक सफलताको यात्रा सम्भव छ । पैसा आइसकेपछि मात्रै मानिसले इच्छाअनुसारको जीवनशैली बनाउन सक्छ । त्यसैले मानिसहरू राम्रो अवसरको खोजीमा देश–विदेश गर्दै भौतारिन बाध्य छन् । तर यदि नेपालमै राम्रो अवसर सिर्जना गर्न सकियो भने धेरै युवाले देश छोड्नुपर्ने थिएन । जग्गा बाँझो छ, पहाड रित्तिँदै गयो । कृषि क्रान्तिको आवश्यकता छ तर कागजीरूपमा मात्र कृषि क्रान्ति भएको छ । विकासको ढोका सडकबाट खुल्छ तर बाटाहरू सबै ठाउँमा जीर्ण छन् । गाउँमा युवाका लागि स्वास्थ्य, शिक्षा र रोजगारीको उचित व्यवस्था छैन । पढ्न चाहनेले पनि आर्थिक अभावका कारण चाहेको विषय पढ्न पाएका छैनन् । यसको लागि न राज्यले ध्यान दिन्छ न त उचित ऋण नै उपलब्ध छ ।
हो, विभिन्न ठाउँमा छात्रवृत्तिको अवसर भए पनि त्यो सबैको पहुँचमा छैन र पढाइपछि पनि अध्ययनअनुसारको काम र पारिश्रमिक नपाउँदा युवा निराश भएका छन् । त्यसैले राज्य राज्यजस्तो हुनुपर्छ । देशमा विभिन्न माध्यमबाट रोजगारी सिर्जना गर्नुपर्छ । जहाँ जे फल्छ, त्यही फलाउनु पर्छ । सरकारले किसानको हकहितमा ध्यान दिनुपर्छ । दूध, हरियो तरकारी, चामल, गहुँ र खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ । सहरमा ‘जंकफुड’भन्दा स्वस्थकर खाना र आफ्नै देशमा उत्पादन भएका वस्तुहरूमा जोड दिनुपर्छ । युवालाई देश राम्रो छ भन्ने महसुस गराउनका लागि रोजगारीको ग्यारेन्टी, गुणस्तरीय शिक्षाको ग्यारेन्टी, स्वास्थ्य सेवामा पहुँच तथा प्रभावकारी बीमा प्रणाली आवश्यक छ ।
यसबाहेक यदि स्थिर राजनीति रह्यो भने पनि युवालाई देशमै रोक्न सक्ने आधार बन्छ र विदेश पलायन हुनबाट जोगाउन सकिन्छ । साथै, साना तथा मझौला उद्योग स्थापना गरी युवालाई रोजगारीको सिर्जना गाउँ–गाउँमा गर्ने तथा कृषि क्रान्ति पनि गर्न सकियो भने जग्गा बाँझो हुनबाट जोगिन सक्छ र स्वरोजगारको अवस्था आउँदा आर्थिक समृद्धि भई विदेश जानबाट जोगाउन सकिन्छ । विभिन्न नयाँ प्रविधिको विकास गर्दै युवालाई स्मार्ट बनाउन सकियो भने पनि उनीहरू आफ्नै देशमा केही गर्न सक्षम हुनेछन् । यदि युवालाई आफ्नै देशको श्रम शक्तिकोरूपमा स्थापित गर्न सकियो भने, स्वरोजगारको विकास हुनुका साथै देशको आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका खेल्न सकिन्छ ।
पहाडका जग्गा बाँझै छन्, बसाइँसराइ तीव्ररूपमा बढ्दैछ, आधुनिक कृषि औजारहरूको विकास छैन, मौसम, माटो र भौगोलिक अवस्थाअनुसारको कृषि अथवा “एक गाउँ, एक बाली“ को विकास गर्न सकेर आर्थिक उन्नति गर्न सकियो भने मात्र पनि युवालाई कामको महत्व बुझाउन सकिन्थ्यो यसले श्रम शक्ति पलायन रोक्न मद्दत पुग्थ्यो ।
साथै, युवालक्षित मनोरञ्जन पार्कहरू पनि नेपालमा अत्यन्तै आवश्यक देखिन्छ । युवा अवस्था भनेको घुमफिर गर्ने तथा रमाउने समय हो । यो उमेरमा युवा लक्षित पार्क, विभिन्न जिम क्लबको व्यवस्था भएमा युवा आफ्नै देशमा खुशीसाथ बस्ने वातावरण बन्न सक्छ । समग्ररूपमा भन्नुपर्दा, राम्रो स्वास्थ्य सेवाको व्यवस्था, शिक्षामा देशको लगानी, युवा लक्षित अवसरहरूको व्यवस्था, मनोरञ्जनका लागि उचित व्यवस्था, भविष्यको निश्चितता तथा योग्यता अनुसारको कामको उपलब्धता भएमा युवा देशमै रहन प्रोत्साहित हुनेछन् । यसले देशको विकासमा युवाशक्ति परिचालन गर्न सकिनेछ र देशको विकास हुन धेरै समय लाग्ने थिएन ।
यसका साथै विदेशी मानिसहरू यही देशमा श्रम गर्न आउँदैछन्, नेपालमा दक्ष जनशक्तिको अभावका कारण धेरै युवा बेरोजगारीको समस्यामा छन् । यस समस्यालाई समाधान गर्न, व्यावसायिक तालिम कार्यक्रमहरू प्रभावकारी उपाय हुन सक्छन् । त्यसैले हाम्रो देशको युवाहरूलाई व्यावसायिक तालिम दिई काममा लगाएर स्वरोज्गारको स्थापना गर्नसके पनि बाहिरी मानिसहरूलाई विस्थापित गरी रोजगारको अवस्था सिर्जना गरी विदेश जानबाट रोक्न सकिन्छ ।
व्यावसायिक तालिमको पहुँच हरेक गाउँ–गाउँ र बस्तीमा पुर्याउनु पनि आवश्यक हुन्छ । युवा देशमा नभएको भनेको देशको मेरुदण्ड भाँचिनु हो, त्यसैले अब सोच्ने बेला आएको छ कि युवा लक्षित कार्यक्रमलाई युवालाई रोजगारी दिने क्षेत्रमा केन्द्रीत गर्नुपर्छ । जबसम्म राज्यले युवाहरूको आवश्यकताअनुसारको काम उपलब्ध गराउन सक्दैन, तबसम्म उनीहरू विदेश जानेक्रम रोक्न सकिँदैन । पहाडबाट बेँसीमा झर्ने, अनि बेँसीबाट सहर बजार हुँदै विदेशको सुखसयल गर्ने इच्छा सबैमा हुन्छ । त्यसैले जबसम्म हामीले भौतिक सुखसयलसँगै न्यूनतम मानिसलाई चाहिने आधारभूत आवश्यकताहरू प्रदान गर्न सक्दैनौं, तबसम्म युवालाई देशमा रोक्न सकिने अवस्था हुँदैन । केन्द्रीयस्तरबाटै युवा लक्षित कार्यक्रम ल्याएर युवालाई देशमा बस्ने आधार बनाउन सक्यौँ भने विदेशमा रहेका युवा पनि देश फर्किने वातावरण बन्छ ।
आखिर मानिसलाई चाहिने पैसा अनि सुखसयलसँगै आधारभूत आवश्यकताहरू नै हुन् । त्यसको जोहो हुने वातावरण बनाउनु राज्यको कर्तव्य हो । जसले गर्दा हाम्रा होनाहार युवाले देश छोड्नुपर्ने अवस्थाको निराकरण गर्नु आजको आवश्यकता हो ।
विभिन्न समयमा विदेशी विश्वविद्यालय तथा शैक्षिक परामर्शदाताहरूले नेपाली विद्यार्थीहरूलाई विदेश पठाएर नेपालका युवाशक्ति पलायन गराएको आरोप पनि लाग्ने गर्छ । तर यस्तो आरोप लगाउनुभन्दा पहिले, आफ्नै देशमा उच्च शिक्षा सहजरूपमा उपलब्ध गराउने, शैक्षिक वातावरण सुधार गर्ने, समयमा नतिजा प्रकाशित गर्ने तथा पढाइपछि रोजगारी पाउने व्यवस्था सिर्जना गर्न सकियो भने युवालाई विदेश जानबाट रोक्न सकिन्छ ।
त्यसैगरी, नेपालमै राम्रो विश्वविद्यालय स्थापना गरी आवश्यक सुविधा दिन सकियो भने, नेपालीहरू विदेश जानुपर्ने स्थिति हुँदैनथ्यो, बरु विदेशी विद्यार्थीहरूलाई नेपालमै अध्ययनका लागि आकर्षित गर्न सकिन्थ्यो । यसले शिक्षा पर्यटनको विकास गरी नेपाललाई आर्थिकरूपमा सबल बनाउन सकिन्थ्यो । साथै, यसले बाह्य पर्यटकहरूलाई नेपाल भ्रमण गर्न आकर्षित गर्ने मात्र होइन, विदेश जान खोज्ने नेपाली विद्यार्थीहरूलाई पनि स्वदेशमै अध्ययन गराएर देशको विकासमा लगाउन सकिन्थ्यो । यसका लागि व्यापक योजना बनाएर अगाडि बढ्न आवश्यक पर्छ । अरूलाई दोष लगाउनुको साटो केन्द्रीयस्तरबाटै पाँचदेखि १० वर्षे योजना बनाई कार्यान्वयन गर्नसके, देशको अवस्था सुधार्न सकिन्थ्यो कि ?