काठमाडौं । प्राइम कमर्सियल बैंकले विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजनाका लागि विराटनगर महानगरपालिकालाई सहयोग गरेको छ । बैंकको विराटनगर शाखाले महानगरको सडक सौन्दर्यीकरणका लागि दुुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । महानगरको सौन्दर्यीकरणका लागि ‘क’ वर्गका बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दुुई लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुसार प्राइम बैंकले रकम हस्तान्तरण गरेको जानकारी बैंकले दिएको छ ।
विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रममा महानगरका मेयर नागेश कोइरालालाई बैंकका प्रदेश प्रमुख रवीन्द्र अर्याल र बैंककै क्लस्टरका कोशी प्रदेश प्रमुख ऋषिराम भट्टराईले दुुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा प्राइम बैंकले विराटनगरसहित कोशी प्रदेशमा आफनो बैंकका ४७ वटा शाखा रहेको जानकारी पनि दिइएको थियो । महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजना अगाडि बढाएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागतको अनुमान गरिएको भनाइ महानगरको छ । हालसम्म २९ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको महानगरको सौन्दर्यीकरण परियोजनाले जानकारी दिइएको छ ।
हालसम्ममा महानगरपालिकामा प्राइम बैंकसहित १७ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ३१ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको जानकारी पनि दिएको छ । यसअघि एनआईसी, एनआईएमबी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसबीआई बैंक, हिमालयन बैंक, नबिल बैंक, लक्ष्मी सनराइज, सिटिजन बैंक, सिद्धार्थ बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले उक्त रकम जम्मा गरेको भनाइ पनि महानगरपालिकाको छ । महानगरको आग्रहमा नै बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यीकरणमा सहयोग पु¥याइरहेको बताइन्छ । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि रोडशेष चोक दक्षिण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र बिरुवा समेत रोपिसकिएको भनाइ महानगरको छ ।
कार्यक्रममा मेयर कोइरालाले सबैको साथ र सहयोगले मात्रै विराटनगरको समग्र विकास हुने भन्दै उनले सौन्दर्यीकरण अभियानलाई सहयोग गरेकोमा बैंक तथा वित्तीय संस्थाहरूलाई धन्यवाद दिएका छन् ।