काठमाडौं । घरको डाक्टर स्किल सेवाको आयोजनामा हालै भएको घर निर्माण फेस्टमा गरिएको थ्रिडी मोडल प्रतिस्पर्धामा आर्यान इन्जिनियरिङ क्याम्पस काठमाडौँ प्रथम भएको छ ।
सो प्रतिस्पर्धामा सहभागी १५ क्याम्पसलाई पछि पार्दै आर्यान इन्जिनियरिङ पहिलो भएको हो । यस्तै, ख्वपा क्याम्पस दोस्रो र थापाथली क्याम्पस तेस्रो भएका छन् । प्रतिस्प्रर्धाको नतिजा भोटिङ प्रणालीबाट भएको कार्यक्रम संयोजक उपेन्द्र तिमिल्सिनाले बताए । फेस्टमा १० हजारभन्दा बढीले बिद्यार्थीहरूले प्रतिस्पर्धामा सहभागी भएका मोडलको अवलोकन तथा मतदान गरेका थिए । विजेताहरूलाई भौतिक तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहालले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रूपैयाँसहित प्रमाणपत्र वितरण गरेका थिए । घर निर्माणसम्बन्धी निःशुल्क परामर्श, प्रबर्द्धन र ‘नेपालमै केही गर्न सकिन्छ’ भन्ने मूल उद्देश्यले ‘जे गर्छौं, नेपालमै गर्छौं’ भन्ने नाराका साथ सो फेस्ट आयोजना गरिएको थियो । यस कार्यक्रममा निर्माण क्षेत्रका विद्यार्थीलाई प्राथमिकतामा राखेर व्यावहारिक र व्यावसायिक तालिम समेत प्रि–इभेन्टको रूपमा दिएको थियो । यसमा एक हजारभन्दा बढी विद्यार्थीहरू सहभागी थिए । किताबी शिक्षाबाहेक बजारको मागअनुसारको सिप सिकाउनका लागि पनि घर निर्माण फेस्टको आयोजना भएको कम्पनीका सञ्चालक शताक्षी मिश्रले बताइन् ।