बेलायत, साउन ११
बेलायती सहर म्यानचेस्टरको एउटा रेष्टुराँमा रिसेप्सनिष्टका लागि १ हजार आवेदन परेपछि सञ्चालकहरु आश्चर्यचकित भएका छन् । एकै दिन उक्त संख्यामा आवेदन परेको बताइएको छ । रेष्टुराँ मालिकहरुले ३० जनाको आवेदन पर्ने सोचेका थिए तर सोचेभन्दा झण्डै १ हजार जनाको आवेदन परेको हो । कोरोना भाइरसको महामारीले बेलायतको हस्पिटालिटी क्षेत्र तहसनहस भएको छ । सोही कारण धेरै बार, रेष्टुराँ र होटलहरु संकटमा परिरहेका छन् । कम्पनीका अनुसार रोजगारी खोज्नेको संख्या बढ्नु निकै दुःखदायक कुरा हो ।
म्यानचेष्टरमा रहेको डीएन्डडी लन्डनका डाइरेक्टर अफ पिपल कारोल कार्नीले भने, ‘सोमबार हामीले रिसेप्सनिष्टका लागि विज्ञापन गरेका थियौँ, अर्को दिन आवेदन हेर्दा २४ घण्टामै ९ सय ६३ जनाले काम चाहेको आवेदन भरेको पायौँ ।’ सामान्यतया यो कामका लागि ३० आवेदन पर्ने सोचेको उनले बताए । अत्यन्तै योग्यता भएका व्यक्तिहरुले समेत आवेदन दिएको उनको भनाइ छ ।