काठमाडौं । पाँच करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएको इन्भेष्टमेन्ट कम्पनी वा १० करोड रुपैयाँ वा सोभन्दा माथिको कारोबार गर्ने कम्पनी अवदेखि नेपाल धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्ने भएको छ । बोर्डले सूचना जारी गर्दै इन्भेष्टमेन्ट कम्पनीहरुलाई सूचीकृत हुन भनेको हो ।
सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४को दफा ७ न.को उपदफा (२)ले दिएको अधिकार प्रयोग गरी सो निर्देशन दिइएको बोर्डले जनाएकोे छ । इन्भेष्टमेन्ट कम्पनीहरुको हकमा पनि बोर्डलाई नियमनकारी निकाय तोक्ने निर्णय भएको सन्दर्भमा त्यस्ता कम्पनीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१को नियम २०को व्यवस्थाबमोजिम तोकिएकोे विवरण तथा कागजातसहित सूचीकृत हुन निर्देशन दिएको छ ।
बोर्डमा सूचीकृत हुनका लागि निवेदन पत्र, सञ्चालक समितिको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर तथा सेयरधनीको लगत, कम्पनीको अद्यावधिक प्रबन्धपत्र तथा नियमावली, कम्पनी अद्यावधिक दर्ता प्रमाण पत्र, स्थायी लेखा नम्बर दर्ताको प्रमाण पत्र विवरण, कार्यकारी प्रमुखको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर, कम्पनीको सञ्चालक समितिबाट बोर्डमा सूचीकृत हुने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि, कम्पनीको सञ्चालक समितिबाट बोर्डमा सूचीकृत हुने सम्बन्धमा दिएको अख्तियारी, कम्पनीको वार्षिक कारोबार समेत खुल्ने लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन र कम्पनीको चुक्ता पुँजी खुल्ने कागजात तथा विवरण चाहिने बोर्डले जनाएको छ ।