काठमाडौं । कम्पनी दर्ता गर्ने र आवश्यक प्रक्रियाहरू पूरा नगर्ने निजी, सरकारी तथा सार्वजनिक संस्थाहरूको संख्या अत्याधिक बढेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार कार्यालयमा दर्ता भएका एक लाख ७३ हजार ७५ वटा कम्पनीले वार्षिक साधारणसभा मुनाफा बाँडफाँट लगायतका विवरणहरू पेश गरेका छैनन् । कार्यालयममा हालसम्म तीन लाख १६ हजार दुई सय २२ वटा कम्पनीहरू दर्ता भएका छन् । वार्षिक साधारण सभा, मुनाफा, घाटा, सञ्चालक समिति फेरबदल लगायतका विवरणहरू पेश नगर्नेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड, नेपाल रेल्व कम्पनी लिमिटेड लगायतका संस्थाहरू रहेका छन् ।
कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद चापागाईका अनुसार कम्पनी ऐन, २०६३ को दफा ८० मा लगातार तीन आर्थिक वर्षसम्म विवरण पेश नगरेमा तथा कम्पनीले आफनो काराबार सञ्चालन नगरेमा कार्यालयले कम्पनीको दर्ता खारेज गर्न सक्ने व्यवस्था गरेको छ । सरकारले कम्पनी दर्ता खारेजका लागि समय–समयमा छुट सहितको व्यवस्था गरे पनि सरोकारावालाहरू नपुग्दा ठूलो संख्यामा रहेका बन्द तथा अलपत्र अवस्थामा रहेका कम्पनीहरू खारेज हुन नसकेको कार्यालयका अधिकराीहरू बताउँछन् । कम्पनी खारेज तथा गाभ्ने लगायतका कामहरू भने निरन्तर भइरहेको बताइएको छ । खारेज तथा गाभ्नका लागि सरोकारावालाहरूले कार्यालयका आवेदन भने दिने गरेका छन् जसको संख्या भने न्यून रहेको पाइन्छ जसलाई आवश्यक परेको हुन्छ त्यसका सम्वन्धित सबै पक्षहरू आएर काम अघि बढाउँछन् उनीहरूले भने ।
कम्पनीको संख्या अत्याधिक हुदाँ अनुगमन तथा निरीक्षणमा समेत कठिनाई रहेको उनीहरूको भनाई छ । कम्पनी ऐन, २०६३ बमोजिम कम्पनीहरूको दर्ता, अभिलेख अद्यावधिक, संस्थागत सुशासनका लागि अनुगमन तथा निरीक्षण गर्ने मुख्य जिम्मेवारी भने कार्यालयको रहेकोमा कार्यान्वयन गर्न सकेको छैन । अर्कोतर्फ दर्ता भएका मध्ये अधिकांश कम्पनीले विवरण अद्यावधिक नगरेको अवस्था छ । संस्थागत सुशासनलाई अभिवृद्धि गर्न अनुगमन तथा निरीक्षण कार्य प्रभावकारी बनाउनु आवश्यक रहेको सरोकारावालाहरूको भनाई छ ।
दर्ता भएका कम्पनीको करिब साढे २० खर्ब ३१ अर्ब रुपैयाँ चुक्ता पुँजीको आकार रहेको छ । ती कम्पनीहरूको अधिकृत पुँजी भने हजार खर्ब माथि रहेको छ । कार्यालयका अधिकारीहरूका अनुसार कम्पनीको पुँजी वृद्धिको सहजताको लागि बढी रकम राख्ने गरेको हुँदा अधिकृत पुँजी धेरै हुन गएको हो एक अधिकारीले भने कम्पनी अर्थात् पब्लिक र प्राइभेट कम्पनीले लगानी कति वृद्धि गर्छन्, एकिन हुँदैन । त्यसैले गर्दा बढी रकम अर्थात् अधिकृत पुँजी राख्दा उनीहरू पुँजी वृद्धिको लागि कार्यालय धाउनुपर्दैन । दर्ता भएका मध्ये सबैभन्दा बढी प्राइभेट रहेको छ भने त्यसपछि क्रमशः नाफा वितरण नगर्ने कम्पनी, पब्लिक र विदेशी कम्पनी रहेको छ ।