काठमाडौ । नेपालमा वित्तीय प्रविधिको नयाँ युगको सुरुवात गरेको नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्टले आफ्नो २१ औँ वार्षिक उत्सव पुल्चोकस्थित द प्लाजामा आयोजना गरेको छ । २००४ मा स्थापित यस कम्पनीले दुई दशकदेखि नेपालमा वित्तीय प्रणालीलाई नयाँ दिशा दिएको छ ।
एफवान सफ्टले भुक्तानीका लागि लाइनमा बस्नु पर्ने बाध्यतालाई हटाएर आम जनतालाई सहजता प्रदान गर्ने उद्देश्यका साथ अनलाइन भुक्तानी सुविधा ल्याएको हो । यसको नवीनतम सेवाले सर्वसाधारणका लागि वित्तीय सेवाहरू डिजिटलरूपमा पहुँचयोग्य बनाएको छ । यसले नेपालमा डिजिटल वित्तीय संसाधनको विकास गर्दै प्रयोगकर्ताहरूको वित्तीय कारोबार सहज बनाउनुका साथै जीवनस्तरमा समेत सुधार ल्याएको छ । एफवान सफ्टको सहायक कम्पनीहरूले क्युआर भुक्तानी, डिजिटल वालेट, डिजिटल कर्जा र रेमिटेन्स सेवा प्रदान गर्दै वित्तीय पहुँचको नयाँ परिभाषा दिएको छ । यसले साना–ठूला सबै प्रकारका व्यापार, व्यावसायिक संस्थाहरूलाई वित्तीय सेवा प्रदान गर्दै नेपाललाई सशक्त बनाएको छ ।
एफवान सफ्टको डिजिटल सेवाले नेपाली जनतालाई सहज वित्तीय पहुँच प्रदान गर्दै वित्तीय समावेशीकरणमा योगदान पु¥याएको छ, जसले गर्दा समाजमा वित्तीय समावेशीकरणको प्रक्रियालाई तीव्र बनाएको छ । साथै, यस कम्पनीले १५ सयभन्दा बढी युवालाई रोजगारी प्रदान गर्दै सशक्त बनाइरहेको छ । एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले यस अवसरमा एफवान सफ्टले २१ वर्षमा प्रमुख बैंक र वित्तीय संस्थासँग साझेदारी गर्दै लाखौँ नेपालीलाई डिजिटल वित्तीय सेवा उपलब्ध गराएको बताएका छन् । उनले आगामी दिनमा नेपालको वित्तीय क्षेत्रलाई थप डिजिटलाइज गरेर नयाँ प्रविधिमा आधारित रणनीतिहरू अपनाउने योजना रहेको विषयमा पनि जोड दिएका छन् । पुल्चोकमा स्थित कार्यक्रम मै कम्पनीका प्रेसिडेन्ट विश्वास ढकालले कम्पनीमा नेतृत्व परिवर्तनको घोषणा गर्दै प्रेसिडेन्ट विश्वास ढकाल कम्पनीमा अध्यक्षको रुपमा आबद्ध रहने गरी नयाँ प्रेसिडेन्टको रुपमा सिद्धान्त ठकुरी नियुक्तलाई नियुक्त गरेका छन् ।
एफवान सफ्ट ग्रुप कम्पनीको ग्रुप प्रमुख सञ्चालन अधिकृत रहेका ठकुरीले नयाँ दृष्टिकोणसहित कम्पनीलाई नयाँ दिशा दिने कुरा व्यक्त गरेका छन् । सधैँ फिनटेकको माध्यमबाट नेपालको डिजिटल रुपान्तरणमा प्रतिबद्ध रहँदै आएको र यस प्रतिबद्धतालाई थप बलियो बनाउँदै ग्राहक, साझेदार, र सरोकारवालाहरुको विस्तारलाई थप ऊर्जा प्रदान गर्ने लक्ष्य रहेको पनि नयाँ प्रेसिडेन्ट ठकुरीले बताएका छन् । साविकका अध्यक्ष तथा प्रेसिडेन्ट विश्वास ढकालले नयाँ नेतृत्वले कम्पनीलाई अझ ठूलो उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै नवप्रेसिडेन्टलाई सफल भविष्य तथा कार्यकालको शुभकामना दिएका छन् । स्थापनाको २२ औँ वर्षमा प्रवेश गर्दा यस कम्पनी नेपाली सर्वसाधारणका लागि वित्तीय सेवा सहजीकरण गर्दै देशको आर्थिक वृद्धिमा थप योगदान गर्न अझ दृढ प्रतिबद्धताका साथ फिनटेक क्षेत्रलाई नवप्रवर्तन गर्न नयाँ मानक स्थापित गर्ने लक्ष्य राख्दछ् ।