काठमाडौं । एनसेल नेपाल सुपर लिग(एनएसएल)को टाइटल स्पोन्सर रहने भएको छ । नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट(एनएसईएम)ले एनएसएलको तेस्रो संस्करणका लागि एनसेललाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको हो ।
एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो । ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा एनसेल र नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टबीच एनएसएलको टाईटल स्पोन्सरसम्बन्धी साझेदारीको घोषणा गरिएको थियो । यस सहकार्यअन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवद्र्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ । साथै, यसले नेपालका उदीयमान खेलाडीलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । सन् २०२१ मा स्थापना भएको एनएसएललाई एनएसईएमले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ ।
थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ । यसले क्षेत्रीय पहिचान प्रवद्र्धन गर्दै एकता र गौरवको भावनालाई अझ बलियो बनाएको छ । एनएसएलको आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरू हुनेछ । यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीसहित सात टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ । एनसेलले अघिल्लो वर्षदेखि नै एनएसएलसँग निकट सहकार्य गर्दै आएको छ ।