भोजपुर । श्री सिद्धेश्वर माध्यमिक विद्यालयको ७७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रगतिको चाहना पूरा गर्न मिहिनेत गर्नु जरुरी रहेको बताएका छन् । उनले मिहिनेतनै नगरी कुरा मात्रै गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न नसकिने बताएका हुन् ।
२००७ सालमा प्रजातन्त्र स्थापनापछि दूरदराजका गाउँमा शिक्षाको ज्योती पुगेको र छोराछोरीलाई पढाउनुपर्छ भन्ने जागरण आएको बताउँदै उपप्रधान मन्त्रीले प्रगतिको जनचाहना पूरा गर्न मिहिनेत गर्नुपर्नेमा जोड दिए । उनले सफलता प्राप्त गर्नका लागि मेहनत र लगनशिलता अपरिहार्य रहेको बताए ।
विद्यार्थीले आफ्नो लक्ष्य प्राप्त गर्न मिहिनेत नगरी सम्भव नहुने सिंहको भनाइ छ । अहिले अवसर पाएर पढिरहेका विद्यार्थीले समाजका लागि के गर्न सक्छौं भन्ने सोच्न पनि उनले आग्रह गरे । सिंहले प्रगतिका लागि आफ्नो रुचीको क्षेत्रमा लगनशिलताका साथ मिहिनेत गर्ने हो भने सफलता निश्चित प्राप्त हुने बताए ।
२००५ सालमै स्थापना भएको सिद्धेश्वर माध्यमिक विद्यालयले उत्पादन गरेका विद्यार्थीले समाजका विविध क्षेत्रमा योगदान गरिररहेको भन्दै उपप्रधानमन्त्री सिंहले विद्यालयको प्रगतिको कामना गर्दै विद्यालयको पूर्वाधार विकासमा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए ।
स्थापनाको ७७औं वार्षिेकोत्सव मनाएको सिद्धेश्वर माध्यमिक विद्यालयको कार्यक्रममा आइतबार सिंहसँगै नेपाली कांग्रेसका कोषाध्यक्ष, प्रतिनिधिसभा सदस्य उमेश श्रेष्ठ पनि सहभागी रहेका थिए ।