काठमाडौं । पर्यटकीय क्षेत्रमा बैंकिङ क्षेत्रको कर्जा लगानी बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ पुस मसान्तसम्म ५४ वटा बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा दुई खर्ब ४४ अर्ब ८१ करोड ७० लाख रुपैयाँँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा २३ अर्ब ६९ करोड ५० लाख रुपैयाँँ बढी हो । २०८० पुस मसान्तसम्म बैंकहरूले पर्यटकीय क्षेत्रमा गरेको लगानी दुई खर्ब २१ अर्ब १२ करोड २० लाख रुपैयाँँ थियो ।
विदेशी पर्यटक आवागमन बढेको र आन्तरिक पर्यटन पनि बढ्दै गएकाले होटल तथा रेस्टुरेन्ट, ट्राभल एजेन्सी, हस्तकलाजन्य उद्योगको व्यापार पनि बढेको छ । यही कारण पर्यटन उद्योगीहरूले कर्जा लिएर व्यापार विस्तार गरिरहेका छन् । जसका कारण बैंकबाट यी क्षेत्रमा जाने कर्जाकोे आकार पनि बढेको देखिन्छ ।
सञ्चालनमा रहेका २० वटा वाणज्य बैंकहरूले मात्रै पर्यटन उद्योगमा दुई खर्ब ११ अर्ब ४७ करोड २० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । जुन एक वर्षअघिको तुलनामा १८ अर्ब २६ करोड ३० लाख रुपैयाँ बढी हो । गत वर्ष पुससम्म वाणिज्य बैंकहरूले पर्यटन उद्योगमा एक खर्ब ९३ अर्ब २० करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेका थिए ।
विकास बैंकहरूले पनि पर्यटन क्षेत्रमा आफ्नो लगानी बढाएका छन् । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले पर्यटन उद्योगमा २०८१ पुस मसान्तसम्म कुल २८ अर्ब ५६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा पाँच अर्ब ६६ करोड ४० लाख रुपैयाँ बढी हो । गत वर्ष २०८० पुस मसान्तसम्म विकास बैंकहरूले यस क्षेत्रमा गरेको कर्जा लगानी २२ अर्ब ९० करोड १० लाख रुपैयाँ थियो ।
फाइनान्स कम्पनीहरूले पनि पर्यटकीय क्षेत्रमा कर्जा लगानी बढाएका छन् । सञ्चालनमा रहेका १७ वटा वटा फाइनान्स कम्पनीहरूले २०८१ पुससम्म पर्यटकीय क्षेत्रमा चार अर्ब ७८ करोड रुपैयाँँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा एक अर्ब ८१ करोड ५० लाख रुपैयाँँ बढी हो । गत वर्ष पुस मसान्तसम्म फाइनान्स कम्पनीहरूले दुई अर्ब ९६ करोड ५० लाख रुपैयाँँ कर्जा प्रवाह गरेका थिए ।
पर्यटक आगमन बढेको र व्यापार पनि राम्रै हुने भएपछि ठूला पाँचतारे होटल खुल्ने क्रम बढेको छ । खासगरी कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रमा धेरै पूर्वाधारहरू निर्माण भएका छन् । पाँचतारे होटल, केबुलकार, भ्यु–टावरलगायतका पूर्वाधार धमाधम बनिरहेका छन् । विभिन्न रिसोर्टहरू पनि बन्ने क्रम बढेको छ । जसको परिणाम बैंकहरूको ऋण लगानी यस क्षेत्रमा बढेको देखिन्छ ।
पर्यटन बोर्डको तथ्याङ्कअनुसार हवाईमार्गबाट आउने पर्यटकको संख्या मासिक करिब एक लाख पुग्न लागेको छ । फेब्रुअरी महिनामा मात्रै नेपालमा ९६ हजार आठ सय ८० पर्यटक हवाईमार्गबाट नेपाल घुम्न आएका छन् । नेपालमा पर्यटकहरू हिमालयन हेर्न, ट्रेकिङ गर्न आउने गरेका छन् । यसको कारण पर्यटकीय क्षेत्रहरूमा विदेशी पर्यटकको चहलपहल पनि बढेको छ ।
निजी क्षेत्रले भने बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको चापलाई मध्यनजर गर्दै पर्यटकीय गन्तव्यहरूमा होटल तथा रेस्टुरेन्टमा लगानी बढाएका छन् भने यहीबीचमा देशमा महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रमा केबलकारकोे निर्माण गरिएका छन् । यी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ठूलो मात्रामा कर्जा लगानी गरेको देखिन्छ ।