काठमाडौं । नेपाली उत्पादकहरूले बौद्धिक सम्पत्ति (ट्रेडमार्क, पेटेन्ट र डिजाइन) लिने क्रम बढेको छ । उद्योग विभागले पछिल्लो समय उत्पादकहरूले आफ्नो उत्पादनको अधिकार रक्षा गर्न अग्रसर हुने क्रम बढेको छ ।
उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको छ महिनामा दुई हजार ३४ वटा ट्रेडमार्क दर्ता भएका छन् । आफ्नो उत्पादनसँगै ट्रेडमार्क, पेटेन्ट र डिजाइन लिएर आउने उत्पादक अर्थात् उद्योगीहरूको संख्या बढेको विभागले बताएको छ । हाल बौद्धिक सम्पत्ति दर्ताको लागि करिब एक लाख आवेदन परेको विभागका अधिकारीहरूले बताए ।
स्वदेशी उत्पादकहरूले आफ्नो उत्पादनको नक्कल नगरोस्, बजार सुरक्षा होस्, पहिचान होस्लगायतका उद्देश्य राखी पछिल्लो समय बौद्धिक सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिएका छन् ।
यसअघि बौद्धिक सम्पत्ति लिन स्वदेशीको तुलनामा विदेशी उत्पादकहरू ठूलो संख्यामा आउने गरेका थिए । तर, पछिल्लो समय विदेशीसँगै स्वदेशी उत्पादकहरू समेत बौद्धिक सम्पत्तिको रक्षा गर्नका लागि विभागसमक्ष आउने गरेको उनीहरूको भनाइ छ ।
विदेशी उत्पादकहरूको हकमा भने अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्रान्डहरू बौद्धिक सम्पत्ति दर्ता गर्न आउनेगरेका छन् । उनीहरूले आफ्नो उत्पादनको ट्रेडमार्क, पेटेन्ट र डिजाइन तथा चिह्नहरूले अन्य उत्पादकहरूले नक्कल नगरोस् भनेर विभाग पुगेका हुन्छन् । यसरी बौद्धिक सम्पत्तिको सुरक्षा गर्नेमा नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरूः कोकाकोला, पेप्सी, युनिलिभर, अमुल, नाइक, कान्साइ पेन्टलगायतका विविध किसिमका उत्पादन छन् ।
नेपाली उत्पादकहरूले भने बौद्धिक सम्पत्तिको रक्षा नगर्दा आफ्नो उत्पादन समेत अन्य मुलुकका व्यवसायीहरूले पहिचान दिएर विश्वबजारमा पुर्याउने गरेका छन् । विशेषगरी नेपालमा उत्पादित सामग्रीहरूलाई भारतीय व्यवसायीहरूले आफ्नो उत्पादन भनी विविध चिह्न राखी विश्वबजारमा पुर्याउने गरेका छन् । त्यसतर्फ ध्यान दिनुपर्ने नेपाली व्यवसायीहरू बताउँदै आएका छन् ।
यसैबीच विभागमा हालसम्म करिब ५८ देखि ६० हजार ट्रेडमार्क दर्ता भएका छन्, जसमध्ये करिब ३५ हजार स्वदेशी र २५ हजारवटा विदेशी रहेका छन् । यस्तै करिब चार सयवटा पेटेन्ट तथा डिजाइन दर्ता भएका छन् । ट्रेडमार्क, डिजाइन र पेटेन्ट दर्ताका लागि विभागसमक्ष आएसँगै विभागले दाबी–विरोध गर्नका लागि सूचना आह्वान गर्दछ । उक्त सूचना आह्वान गरेको खण्डमा दाबी–विरोध नआएमा बौद्धिक सम्पत्तिको दर्ता गर्छ ।
नेपाली उत्पादकहरूमा बौद्धिक सम्पत्तिसम्बन्धी चेतना उजागर भए पनि नक्कल गर्ने प्रवृत्ति भने कायम रहेको निजी छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । नेपालको अर्थतन्त्रमा विश्वका उपभोक्तामाझ परिचित चिह्न, डिजाइन ट्रेडमार्क नक्कल गरी आफ्नो उत्पादनमा राख्ने प्रवृत्तिमा कमी आए पनि त्यसको पूर्ण बन्देज हुन नसकेको महासंघका निर्वतमान अध्यक्ष श्याम प्रसाद गिरीले बताउँदै आएका छन् । यसैबीच नेपालको अर्थतन्त्रमा घरेलु तथा साना उद्योगको योगदान ५० प्रतिशतभन्दा बढी भए पनि यसले बौद्धिक सम्पत्तिको विषयमा विचार पुर्याएको पाइँदैन । जसले गर्दा यसबाट उत्पादित सामग्रीहरू अन्य मुलुकका व्यवसायीले आफ्नो पहिचान राखेर विश्वबजारमा पुर्याउने सम्भावना प्रशस्त रहेको छ ।
बौद्धिक सम्पत्तिको प्रयोगसँगै यसको दुरूपयोग पनि बढेको पाइन्छ । विभागका अनुसार सबैभन्दा बढी ट्रेडमार्क नक्कल गर्ने परम्परा रहेको हुँदा उजुरी आउने गरेको छ । समीक्षा अवधिमा ५७ वटा ट्रेडमार्कसम्बन्धी मुद्दाको कारबाही टुङ्गो लगाइएको छ । विभागमा भारतीय व्यवसायीले नेपाली उत्पादन नक्कल गरेको भनी उजुरी समेत आउने गरेको छ । पछिल्लो समय नेपालमा लोकप्रिय बनेको चोकोफन चक्कलेट, रसिलो चक्कलेट, एमडीएच मसलालगायतका उत्पादनमा नेपाली उत्पादक र भारतीय उत्पादकबीच विवाद देखिएको थियो ।